च्याम्पियन्स लिगमा रियालको खराब सुरुवात, दोस्रो खेल पनि बराबरीमा रोकियो



रियाल मड्रिडले यो सिजनको च्याम्पियन्स लिगमा हालसम्मकै खराब सुरुवात गरेको छ। गएराति भएको खेल बराबरीमा टुङ्गिएसँगै लगातार दोस्रो खेलमा रियाल जितबिहीन बनेको हो।

गएराति घरेलु मैदानमा भएको क्लव ब्रगविरुद्धको खेलमा रियाल २-२ गोलको बराबरीमा रोकिएको हो। खेलको पहिलो हाफमा रियाल २-० ले पछाडि परेको थियो।

क्लव ब्रगका लागि इम्यानुअल डेनिसले नवौं र ३९औं मिनेटमा गोल गर्दै आफ्नो टोलीलाई २-० को अग्रता दिलाएका थिए। रियालले लगातार गोलको प्रयास गरे पनि सफल हुन सकेन।

दोस्रो हाफमा रियालका लागि कप्तान सर्जियो रामोसले गोल गर्दै २-१ को अवस्थामा पुर्‍याए। उनले ५५औं मिनेटमा हेडिङमार्फत गोल गरेका थिए। खेलको ८५औं मिनेटमा क्यासमिरोले गोल गर्दै रियाललाई हारबाट जोगाएका थिए।

सन् १०९२-९३ को सिजनबाट च्याम्पियन्स लिग नयाँ फर्मेटमा सुरु भएयता रियालले सुरुआती दुई खेलमा जित निकाल्न नसकेको यो पहिलोपटक हो। यसअघि रियालले समूहचरणको पहिलो खेलमा पिएसजीसँग ३-० को हार बेहोरेको थियो।

गएराति नै भएको अर्को खेलमा पिएसजीले गलातसारेलाई १-० ले पराजित गरेको छ।

समूह ‘ए’ मा लगातार दुई जित निकालेको पिएसजी ६ अंकसहित शीर्षस्थानमा रहेको छ। दुई खेलबाट १ अङ्क जोडेको रियाल भने समूहको अन्तिम स्थानमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्