भारतीय कलाकार भन्छन्– ‘बुद्ध यतै कतै छन्’



(पोखरा) — बर्दीधारी सशस्त्र प्रहरी फेवातालबाट जलकुम्भी निकाल्दै छन् । ताल किनारमै छ ठूलो बगैँचा भएको रेस्टुरेन्ट । बगैँचामा चराहरूको चिरबिर छ । चराजस्तै स्वच्छन्द भएर एक हूल चित्रकार चित्र कोरिरहेछन् । रूखबाट चराले बिस्ट्याउँछ । क्यानभासमा खस्छ । चित्रकार झर्को नमानी सोहोर्छन् । फेरि चित्र कोर्छन्, ध्यान बसेजस्तै ।

थाङका चित्रमा देखेको बुद्धको आकृतिलाई उनले क्यानभासमा उतारिन् । भारत वाराणासीकी प्रिया श्रीवास्तवले लोक शैलीलाई आधुनिकतामा बदलिन् । भारतकै राजस्थानका कलाकार महावीर रमावतले एक्रेलिकमा बुद्ध बनाए । पोखराको सौन्दर्यले उनलाई लठ्ठ्यायो । सराङकोटबाट सूर्योदय हेरे । प्याराग्लाइडिङ गरे । बेलुका विश्व शान्ति स्तूपबाट सूर्यास्त नियाले । ‘यहाँको हरियाली देख्दा यस्तो लाग्छ, बुद्ध यतै कतै छन्,’ उनले भने, ‘यहाँको वातावरण, मानिसको संयमता देखेरै बुद्धले यो भूमि रोजेको हुनुपर्छ । यस्तो प्रकृति अन्त कहीं देखेको छैन ।’
राजस्थानको सुनहरी छविल फाउन्डेसनले गरेको इन्डो–नेपाल अन्तर्राष्ट्रिय कला शिविर तथा प्रदर्शनीमा भारतका २५ कलाकार पोखरा आएका हुन् । उनीहरूसँगै पोखराका १० कलाकार मिसिए । बुधबार र बिहीबार भारतीय कलाकार पोखरा घुमेनन् मात्रै, दुई देशका कलाकारले ज्ञान आदानप्रदान पनि गरे । ३५ कलाकारले ताल किनारमा बसेर जे देखे त्यहीं कोरे । जे सोचे त्यहीं बनाए ।
भारतीय टोलीमा संघर्षशीलदेखि स्थापित कलाकार छन् । २८ वर्षदेखि चित्रकारितामा सक्रिय पटनाका शरद कुमार मिथिलाकलामा रुचि राख्छन् । क्यानभास बनाउन उनी बाँस, केरा, भाङ लगायतबाट आफैं कागज तयार गर्छन् । चित्र बनाउन मुल्तानी माटो, गोबर, प्राकृतिक रंग प्रयोग गर्छन् । कलायात्राका क्रममा स्पेन, फ्रान्स, बेलायत, भुटानलगायत देश पुगिसकेका छन् । ‘म पुगेका सहरमध्ये पोखरा सबैभन्दा राम्रो लाग्यो,’ उनले भने, ‘एक कलाकारको लागि योभन्दा राम्रो ठाउँ अरू के हुन सक्छ !’ पोखरा यति सुन्दर होला भन्ने नसोचेको उनले सुनाए ।
वाराणासीका युवा कलाकार आनन्द बर्मा नजिकै भएर पनि नेपाल आउन पाएका थिएनन् । फाउन्डेसनको माध्यमबाट उनी पहिलोपल्ट नेपाल, पोखरा आए । फाउन्डेसनले फेसबुक पेजमार्फत् सहभागी हुन आह्वान गरेपछि उनले आवेदन दिएका थिए । चित्रकलामा संघर्षरत उनी छानिन सफल भए । सबै सहभागी त्यसैगरी छानिएर आएको उनले बताए । शान्त वातावरण देखेपछि उनले गरुणदेवको ध्यानमग्न अवस्थाको चित्र कोरे । ‘यहाँको भूगोल यति सफा र सुन्दर छ,’ उनले भने, ‘त्यसैले यहाँका कलाकारले धेरै ल्यान्डस्केप बनाएको देखें ।’ उनी अर्कोपल्ट २ महिना बस्ने गरी नेपाल आउने सोचमा छन् ।

प्रतिक्रिया दिनुहोस्