शारदीय नवरात्रिको तेस्रो दिन : आज चन्द्रघण्टा देवीको पूजा गरिँदै



मङ्गलबार शारदीय नवरात्रिको तेस्रो दिन।

नवरात्रिभर नवदुर्गाको पूजाआराधना गर्ने गरिन्छ। यसअनुसार मङ्गलबार देवीको तेस्रो स्वरूप चन्द्रघण्टाको पूजा गरिँदै छ।

भगवान् शिवसँग विवाहपश्चात् देवीको शिरमा घण्टास्वरूपको चन्द्रमाले सुसज्जित भएकी थिइन्। यसर्थ, देवीको नाम चन्द्रघण्टा भनिएको हो।

ब्याघ्रिनीको आसन गरेर देवी बसेकी हुन्छिन्। भारतीय उपमहाद्वीपमा पाइने यस देवीको मूर्तिमा १० हात देखाइएको हुन्छ। बायाँ हातमा क्रमशः त्रिशूल, गदा, तरबार एवं कमण्डलु बोकेकी हुन्छिन् र पाँचौ हात वरद मुद्रामा हुन्छ। त्यस्तै, दायाँ हातमा क्रमशः कमलको फूल, वाण, धनुष र जपमाला बोकेकी हुन्छिन् भने पाँचौ हात अभय मुद्रामा हुन्छ।

देवीको शिरमा सुसज्जित चन्द्रघण्टाको स्वरले सबै आसुरी शक्ति हट्ने विश्वास गरिन्छ, तसर्थ देवीले सबै शस्त्रअस्त्रका साथ भक्तजनको कल्याणका लागि युद्ध गर्न तयार रहन्छिन्।

नवरात्रिका अवसरमा देशका विभिन्न शक्तिपीठमा भक्तजनको घुइँचो लाग्ने गर्दछ।

प्रतिक्रिया दिनुहोस्