बिकिनी लगाएर पहाडको चुचुरोमा पुग्ने यी चर्चित युवतीको चिसोमा जमेर मृत्यु



ताइवानकी एक युवती थिइन् । पहाडसँग प्रेम थियो उनलाई । पहाडमा चढ्न, लामो यात्रामा निस्कन उनलाई मन पर्दथ्यो । ११ जनवरीमा पनि उनी पहाडमा गइन्, तर त्यहाँबाट फर्किएर आइनन् ।

‘बिकिनी हाइकर’ को नामले चर्चित छिन् ३६ वर्षे गिगी वू । गिगीलाई वू ची–यूंको नामले पनि चिनिन्छ ।

द टेलिग्राफका अनुसार ११ जनवरीमा उनी एक्लै पहाडको यात्रामा निस्किइन् । यात्राकै क्रममा उनलाई चोट लाग्यो र उनी घाइते भइन् । उनले १९ जनवरी शनिबार आफ्ना साथीहरुलाई सेटलाइट फोनमार्फत् फोन गरिन्, ‘समस्यामा छु । युसान नेशनल पार्कमाको एउटा खोल्सामा खसेको छु । चोट लागेका कारण हिँड्न सक्दिनँ । मद्दत गर ।’

अधिकारीका अनुसार उनले साथीहरुलाई आफ्नो शरिरको तल्लो भाग एउटा खोल्साको २०–३० मिटरमा फसेका कारण आफू चल्न नसक्ने पनि जानकारी दिएकी थिइन् ।सपछि नेशनल एयरबोर्न सर्भिस दलले उद्दारका लागि कालो हेलिकोप्टर पठायो । एकपटक होइन । तीन पटक । तर मौसम खराब भएकाले हेलिकोप्टर अवतरण गर्न सकेन । तापक्रम २ डिग्री सेल्सियस नजिक थियो । त्यसपछि उनको खोजबिनका लागि तीन व्यक्तिको दुई समूह बनाइयो । दुबै समूह २८ घण्टासम्म खोजीकार्यमा लागिरह्यो र सोमबार उनको शव भेटियो । चिसोका कारण उनको शव लगभग जमिसकेको थियो ।

टिमका कमान्डर लिन चेंगलीले भने, ‘गिगीको शव समुन्द्री सतहभन्दा करिब १७०० मिटरमा भेटियो ।’

३६ वर्षकी गिगीलाई पहिले पनि पहाडमा थुप्रै पटक चोट लागेको थियो र उनी गम्भीर रुपमा घाइतेसमेत भएकी थिइन् । सन् २०१८ को क्रिसमसको मौकामा गिगीले सोसल मिडियामा फोटो पोस्ट गर्दै लेखेकी थिइन्, ‘धन्य, म बाँच्न सफल भएँ ।’

गिगी आफ्नो इन्स्टाग्राम पेजमा जुन फोटो पोष्ट गर्थिन्, तीमध्ये कतिमा उनी निकै अग्ला पहाडमा पनि हुन्थिन् । उनी भन्थिन्, ‘म वर्षको एक तिहाईभन्दा बढी (१२७ दिन) हाइकिङलाई दिन्छु ।’

गत वर्ष एक स्थानीय च्यानल एफटीभीसँगको अन्तर्वार्तामा आफूले चार वर्षमा सय बढी पहाड चढिसकेको जानकारी दिएकी थिइन् ।

उनले पहाड चढ्न हाइकिङ ड्रेस नै लगाउँथिन् र चुचुरोमा पुगेपछि भने बिकिनी फेर्ने गर्थिन् ।

‘मैले चढेका सबै सयवटा पहाडको चुचुरोमा मैले बिकिनी लगाएँ । मसँग ९७ वटामात्र बिकिनी छ, त्यसकारण कतिपटक मैले बिकिनी दोहोराएकी पनि छु,’ उनले भनेकी थिइन् ।

यस्तो किन गर्नुहुन्छ भन्ने प्रश्नमा उनले भनिन्, ‘यो हेर्दा निकै राम्रो देखिन्छ, यसमा के नराम्रो छ ?’