बिर्तामोडका औषधि व्यवसायी भन्छन्, ‘जोखिम मोलेर सेवा दिइरहेका छौँ’



 

कोरोनाको सङ्क्रमण फैलिन नदिन सरकारले लक डाउन (निषेधाज्ञा) गरेपछि दुई दिनदेखि झापाका चोक बजार बन्द छन् । सवारी आगावमन ठप्प छ । विश्वव्यापी विषमपरिस्थितिमा नेपाल पनि कोरोनाको उच्च जोखिममा परेपछि सरकारले साताव्यापी लक डाउन गरेको छ । यद्यपि, भारतले मंगलवार मात्रै तीन साताका लागि लक डाउन गर्ने घोषणा गरेको छ । लक डाउनका कारण झापामा अत्यावश्यक सेवा प्रवाहको अवस्था कस्तो छ ? खास गरी औषधि व्यवसायीले कसरी सेवा दिइरहेका छन् ? हामीले बिर्तामोडका केही व्यवसायीलाई सोधेका छौँ ।

सुरेश खतिवडा, सञ्चालक ओम झापा मेडिकल

विनय डाँगी, सञ्चालक प्राञ्जल फार्मेसी बिर्तामोड
सबैतिर बन्द छ । आवतजावतमा समस्या भएपछि सेवा दिन गारै हुन्छ । फेरि विरामीका लागि औषधि नदिने कुरा पनि भएन । जोखिम छ भन्ने थाहा हुँदाहुँदै पनि मैले कम्तीमा तीन घण्टा सेवा दिइरहेको छु । हिजो पनि तीनदेखि छ बजेसम्म पसल खोलियो । आज पनि त्यसैगरी सेवा दिन्छु । हाम्रो पनि प्रोटेक्सन केही छैन । धेरै जोखिम छ हामीलाई पनि । फोन गरेर आउँछन् विरामी । अनि जानै पर्छ ।

प्रदीप खरेल सञ्चालक, प्रदीप फार्मेसी विर्तामोड
आउन जान समस्या छ । आज त प्रहरीले रोक्यो । औषधि व्यवसायी हुँ भनेपछि छोडिदियो । मैले विहान आठ बजेदेखि दिउँसो १ बजेसम्म औषधि पसल खुला राखेँ । अलि अलि मान्छे आउँछन् । सारै अफ्ठ्यारोमा परेका मान्छे आउने हुन् । अब बेलुका ४ बजेपछि एकछिन औषधि पसल खुला हुन्छ ।

सुरेश खतिवडा, सञ्चालक ओम झापा मेडिकल
निश्चित समय तोकेर खोल्न थालिएको छ । विहानदेखि अहिले दुई बजेसम्म खोँले । अब भरे पाँच बजेपछि खोल्छु । धेरै इमरजेन्सी पर्ने साथीभाइले फोन पनि गर्नु हुन्छ । उहाँहरुलाई पनि औषधि दिनै परो । नियमित औषधि खानेहरु पनि छन् । यस्तो जोखिखमा हाम्रो प्रोटेक्सन त छैन । मास्क र पञ्जा लगाएर बसेका छौँ । कोही औषधि लिन आउँदा दूरी कायम गर्छाैँ । सावुन पानीले हात धोएपछि मात्रै आउन दिने गरिएको छ ।

नर्वदा भट्टराई सञ्चालक, बिर्ता आयुर्वेद एण्ड फिजियोथेरापी बिर्तामोड
सरकारले सुरक्षा दियो भने मात्रै खोल्न सकिन्छ । औषधि एकदमै आवश्यक पर्नेहरु आइरहेका छन् । हिजो पनि दिनभर सेवा दिएका थियौँ । आज पनि आधा दिन औषधि पसल खुलेको छ । नियमित औषधि सेवन गर्ने र थेरापी गराउनेहरुलाई सेवा नदिई हुँदैन । भोलि पनि विहान आठ बजेदेखि दुई बजेसम्म बिर्ता आयुर्वेद खुला हुन्छ । लक डाउन रहेसम्म फिजियो थेरापी सम्भव होला जस्तो छैन । फार्मेसी सेवा चाहिँ दैनिक पाँच घण्टा उपलब्ध हुन्छ ।