
अपराध गरेपछि मान्छे आत्तिन्छ । उसको एकमात्र सोच भनेको कसरी लुक्ने वा भाग्ने भन्ने हो । सकेसम्म अपराध लुकाउने प्रयत्नमा लाग्छ । आफुले गरेको अपराधले उसलाई जीवनभर पिरोलिरहन्छ रहन्छ ।
आफूले गरेको हो अपराधकाे पीडाले विक्षिप्त भएको मान्छे कुनै न कुनै दिन कानुनको फन्दामा पर्छ । लामो समय प्रहरीको आँखा छले पनि त्यो अन्ततः असम्भव हुन्छ । यसका लागि झापा प्रहरीले पक्राउ गरेका दुई अभियुक्तको उदाहरण पर्याप्त छ ।
दुई साताअघि झापा प्रहरीले १३ वर्षदेखि फरार रहेका हत्याका एक जना अभियुक्तलाई पक्राउ गर्यो । परिवार र आफन्तले समेत घटना बिर्सिसकेका थिए । तर प्रहरीले सक्रियता देखायो र फरार अभियुक्तलाई १३ वर्षपछि नियन्त्रणमा लियो ।
शुक्रबार पनि झापा प्रहरीले एक जना त्यस्ता अभियुक्तलाई पत्रकारसामु उभ्यायो, जाे २०६० सालमा झापाको जलथलमा भएको हत्याको एउटा घटनाका आराेपी थिए । यसले पनि पुष्टि गरेको छ, प्रहरीले इच्छाशक्ति देखायो भने जस्तोसुकै अवस्थामा पनि फरार अभियुक्तहरु समातिन्छन् ।
आफुले गरेको अपराध मान्छेले कहिल्यै पनि बिर्सिदैन । उसलाई लाग्न सक्छ, बरु अरुले चाहिँ त्यो घटना बिर्सिसके । तर प्रहरीले त्यस्ता घटना बिर्सिदैन भन्ने कुरा पछिल्ला यी दुई घटनाले देखाएको छ । यसका लागि झापा प्रहरी धन्यवादको पात्र छ ।
पेशागत दायित्वलाई आत्मसात गर्दै जनस्तरसम्म सुमधुर सम्बन्ध राख्ने हो भने अपराधका अरु थुप्रै घटनामा सामेल भएर फरार रहँदै आएका अभियुक्त पक्राउ पर्न सक्छन् । यसका लागि प्रहरीले सूचना सम्बन्धको विकास गर्दै जनताको विश्वास अझै दरिलो र प्रभावकारीरुपमा जित्न सक्नुपर्छ ।