
अस्मिता साँखी
२१ औं शताब्दीको नेपाली समाजले अझै पनि छोरा र छोरीबीच समान व्यवहार गर्न सकेको छैन । संसार धेरै अगाडि बढिसकेको छ । तर, हाम्रो समाज भने कयौं बाटा हुँदाहुँदै पनि धेरै पछाडि छ । कारण यो हो कि, हाम्रो समाजका मान्छे कतिपय पुराना कुसंस्कार र कुरीतिलाई धर्म र परम्परासँग जोडेर त्यसैको पछाडि लागेका छन्।
यो छोराले गर्ने हो, यो छोरीले गर्ने काम हो । त्यहीबाट विभेद सुरु हुन्छ । छोरी भएर जन्मेपछि यति गर्नै पर्छ नि । यो काम त बुहारीले नै गर्ने हो भन्ने जस्ता सोच अझै पनि नेपाली समाजमा हाबी छन् । घर भित्रको काम त छोरी÷बुहारीले नै गर्नु पर्छ भन्ने सोच अझै जीवित छ ।
श्रीमान् श्रीमती दुबै बाहिरको काममा जान्छन् भने श्रीमान्ले काममै मात्र गए पुग्छ । तर, श्रीमती भने घरको बिहानको सबै काम सकेर पनि बेलुकाको काम गर्न आइपुग्नै पर्छ । एउटी महिला बाहिर काम गर्न जान पाउँछिन् । तर, एउटा शर्तमा बिहानको खाना पकाउने, भाँडा माझ्ने, घर सफा गर्ने, स्कूलका लागि बच्चालाई तयार गर्ने जस्ता सारा काम सकेर बेलुका पनि त्यही काम गर्न आइपुग्ने गरी ।
३६५ दिनमा एक दिन नारी दिवस हुन्छ । त्यो पनि के का लागि ? मात्र यदि कुनै महिला घर भन्दा बाहिरको काम गर्छे भने उसले त्यो दिन छुट्टी पाउँछे । तर, घर भित्रको कामबाट होइन । अनि बाँकी अरु दिन चै के ? सायद पक्कै अरु ३ सय ६४ दिन पुरुष दिवस हुनुपर्छ ।
पुरुषवादी समाज जो छ, महिलाहरुलाई बन्धनमा बाँध्न अनेकन बहाना तयार छन् । संसारमा मान्छे अन्तरिक्षमा गएर फर्किन्छ । कोही उतै घर बनाएर बस्ने सोच राख्छन् । तर, हाम्रो देश भने अझै महिलाले के गर्ने अनि पुरुषले के गर्ने, के गर्न हुने र के गर्न नहुने फैसला गर्न मै व्यस्त छ ।
एउटी नारी छोरी हुँदा भन्दा अझै बुहारी बन्दा झन् धेरै बन्धनमा फस्न पुग्छे । बुहारी घरकी लक्ष्मी हो भन्ने हाम्रो समाज भात भान्सा र चुलो चौकामा सीमित बनाउन खोज्छ । कुनै दिन भान्सामा अरु कोही पस्नु परो कि मुख नै अँध्यारो हुन्छ । सबै बिर्सिन्छन कि, छोरासँग भन्दा छोरीसँग धेरै कला र सीप हुन्छ, उनीहरुले समाज र रास्ट्रका लागि झन् धेरै योगदान गर्न सक्छन ।
समाजले महिलालाई छुट्ट्याएको विकल्प भातभान्सा, बालबच्चा, घर परिवार र पाहुना । घर, परिवार, समाज र आफ्नै श्रीमान्को डर अनि माया । हो यही कारणले महिलाहरु स्वतन्त्र भएर बाहिर निस्किएर केही गर्न सकेका छैनन । हुन त महिलाको कारण महिला नै स्वतन्त्र छैनन् पीडित छन् भने अर्कातिर पुरुषको कारण पनि स्वतन्त्र छैनन् ।
यसरी भन्न सकिन्छ कि केही गर्छु भन्नेले पनि समाजको बन्धनबाट बाँधिएर केही गर्न पाएका छैनन् । केही गर्न सकेका छैनन् । मनलार्इ मनैले बाँधेर राख्नु परेको छ । खुलेर बोल्न, हिँड्न सकेका छैनन् । अझ भनुँ महिलाहरु खुलेर बाँच्न पाएका छैनन् ।
जसले समाजको अगाडि महिला अधिकार, महिला मुक्ति र समानताका कुरा गर्दै हिँड्छ, छोरीले पनि छोरा सरह जिम्मेवारी बहन गर्नुपर्छ । अधिकार र अवसर पाउनुपर्छ । अघि बढ्नुपर्छ भनेर हौसला प्रेरणा दिँदै हिँड्छ, जसले महिला शिक्षा सम्बन्धी कार्यक्रम गर्दै हिँड्छ, खोज्दै जाने हो भने उनीहरुकै घरमा महिलाहरु पीडित भएर बसेका छन । यसरी कसरी हुन्छ परिवर्तन ?
नारी दिवस भन्दै कार्यक्रम गर्दै हिँड्नेहरुको घरमा नै नारी पीडित छन् । अनि कसरी हुन्छ परिवर्तन ? अब कहिले खुल्छ आँखाको ढोका यस्ता महापुरुषहरुको ? महिलामाथि हिंसा गर्नुलाई आफ्नो पुरुषार्थ ठान्ने राक्षसहरुको । कहिलेसम्म छोरीलाइ लक्ष्मीको नाम दिदै भान्साभित्र सीमित बनाउने ? आखिर कहिलेसम्म ? समाज रुपान्तरणको अभियान चलाउनेहरुलाई यस विषयमा सोच्ने फुर्सद छ ?