सन्दीपले लिए १० विकेट !



 

लक्ष्मी काफ्ले
वेस्ट इण्डिजमा जारी क्यारेवियन प्रिमियर लिग (सीपीएल) क्रिकेट प्रतियोगितामा नेपालका खेलाडी सन्दीप लामिछानेले १० विकेट पूरा गरेका छन् । लेगस्पिनर सन्दीप यस प्रतियोगितामा टिम जमैका तलावाजसँग आवद्ध छन् ।

७ खेलमा कूल २८ ओभर बलिङ गरेका सन्दीपले एक सय ३६ रन खर्चदै १० विकेट चट्काएका हुन् । सन्दीपले सन् २०१८ देखि हरेक वर्ष सीपीएलमा सहभागिता जनाउँदै आएका छन् । तर, सीपीएलको एउटै प्रतियोगितामा उनले १० विकेट पूरा गरेको भने यो नै पहिलोपटक हो ।

यसअघि सन् २०१८ को सीपीएलमा सन्दीपले जम्मा ७ विकेट हात पारेका थिए । उक्त प्रतियोगितामा उनले कूल १७ ओभरमा एक सय छ रन खर्चिएका थिए । २०१९ को सीपीएलमा उनले ६ खेल पूरा गर्दै ८ विकेट लिए । उक्त प्रतियोगितामा सन्दीपले २० ओभर बलिङ गर्दै एक सय २९ रन दिएका थिए ।

सन्दीपले यस सिजनको सीपीएलमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । हरेक खेलमा उनी टिममा समावेस भएका छन् । यसै प्रतियोगिताको एक खेलमा उनले मात्र ८ रन खर्चिएर महत्वपूर्ण दुई विकेट लिएपछि क्रिकेटप्रेमीको ध्यान उनीतर्फ मोडिएको छ ।

सन्दीपको प्रदर्शन उत्कृष्ट रहे पनि प्रतियोगितामा उनको टोली जमैका भने अंक तालिकाको चौथो नम्बरमा छ । सात खेलमा तीन जीत र चार हार बेहोरेको जमैकासँग कूल ६ अंक छ ।

प्रतियोगितामा ६ वटा टोली उपाधि रक्षाका लागि प्रतिस्पर्धा गरिरहेका छन् । ट्रिनबागो नाइट राइडर्स १४ अंकका साथ प्रतियोगिताको शीर्ष स्थानमा छ ।
२० ओभरको छोटो शैलीको सीपीएल खेल्नकै लागि २० वर्षीय सन्दीप काठमाडौँमा कोरोना परीक्षण गरेपश्चात विमान चार्टर्ड गरेर वेष्ट इण्डिज प्रस्थान गरेका थिए ।

ईएसपीएन क्रिक इन्फोका अनुसार सन्दीपसँग जमैका तलावाजले करिब एक लाख ३० हजार अमेरिकी डलरमा सम्झौता गरेको थियो ।अगस्ट १८ देखि सुरु भएको प्रतियोगिता सेप्टेम्बर १० सम्म चल्नेछ ।

कोरोना महामारीका कारण यो सिजनको सीपीएल बन्द रंगशालामा सञ्चालन भइरहेको छ । सीपीएल सकेलगत्तै सन्दीप ईण्डियन प्रिमियर लिग (आईपीएल) खेल्नका लागि युएई जानेछन् । आइपीएलमा सन्दीप दिल्ली क्यापिटल्समा आवद्ध छन् ।