बीएण्डसी हस्पिटलका १२ स्वास्थ्यकर्मी कोरोना संक्रमण मुक्त



 

बिर्तामोड– झापाको विर्तामोडस्थित बीएण्डसी अस्पतालमा कार्यरत १२ जना स्वास्थ्यकर्मी कोरोना भाइरस संक्रमण मुक्त भएका छन्। कोरोना संक्रमण भएको १५ दिनपछि उनीहरु संक्रमण मुक्त भएका हुन् ।

समुदाय तहमा कोरोना संक्रमण फैलँदै गएपछि अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको पीसीआर जाँच गर्दा १२ जनामा संक्रमण पुष्टि भएको थियो ।

संक्रमण मुक्त भएका स्वास्थ्यकर्मीलाई अस्पताल प्रशासनले आज विशेष कार्यक्रमका बीच स्वागत गरेको छ । अस्पतालको व्यवस्थापन तथा उपचारमा रहेका उनीहरुलाई काममा फर्कनुअघि अस्पतालले स्वागत गरेको हो ।

अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले कोराना संक्रमणको जोखिम भएपनि यसबाट कोही भाग्न नसक्ने बताए । उनले संक्रमण जितेर आएका स्वास्थ्यकर्मीलाई धन्यवाद दिए । तत्कालका लागि कोरनासँग मिलेर जानुको विकल्प नभएको कार्यकारी निर्देशक प्रसाईको धारणा छ ।

पुष्पगुच्छा दिँदै फाेटाे खिच्दै

पूर्वाञ्चल क्यान्सर अस्पतालको बैठक कक्ष । अग्रपंक्तिमा सञ्चारकर्मी बसेका छन् । उनीहरूको छेवैमा छन् कार्यकारी निर्देशक दुर्गा प्रसाई । पत्रकारहरुलाई निर्देशक प्रसाई भन्छन्, कोरोना केही होइन। हाम्रा सबै स्वास्थ्यकर्मी संक्रमण मुक्त भएर भोलिदेखि काममा फर्किंदैछन् ।

उनले त्यति भनी नसक्दै युवतीहरूको एउटा समूह हर्षित मुद्रामा बैठक कक्षमा प्रवेश गर्छ । सबैले मास्क लगाएका छन् । उनीहरू अरु कोही नभएर अस्पतालका नर्स र डाक्टर हुन् । १५ दिनअघि कोरोना संक्रमण भएपछि उनीहरु आइसाेलेसनमा थिए।

संक्रमण मुक्त भएपछि अस्पतालले उनीहरुलाई स्वागत सम्मान गरेको छ । कार्यकारी निर्देशक प्रसाईले उनीहरु सबैलाई पालैपालो खादा लगाइदिए, हातमा पुष्पगुच्छा थमाए, अनि पालैपालो अंगालो मारेर तस्बिर खिचाए । संक्रमण मुक्त भएका स्वास्थ्यकर्मीसँग अस्पतालका डाक्टर र सञ्चारकर्मीले पनि फोटो खिचे ।

संक्रमणमा परेका स्वास्थ्यकर्मीलाई अन्यत्र कतै नपठाई आफ्नै अस्पतालमा उपचार गरेको कार्यकारी निर्देशक प्रसाई बताउँछन् । आफ्नो अनुभव सुनाउँदै डाक्टर राजेश भन्छन्, ‘बाहिर अनेकथरी हल्ला फैलियो, तर हामी अलिकति पनि विचलित भएनाै । किनभने हामीलाई अस्पताल प्रशासन र सिंगो डाक्टरहरूको टिमले आत्मविश्वास र हौसला जगाइरहेको थियो ।’

तस्वीरहरु– विष्णुकुल श्रेष्ठ