शिक्षकहरू सडकमा माग्ने अवस्थामा पुगेको युनियनको ठहर



 

बिर्तामोड– संस्थागत विद्यालय शिक्षक युनियन बिर्तामोडले निजी विद्यालयमा कार्यरत शिक्षकहरु सडकमा माग्ने अवस्थामा पुगेको ठहर गरेको छ ।

विद्यालय सञ्चालकले तलबभत्ता रोकेर राखेपछि दैनिक गुजारा गर्न समस्या भएको भन्दै युनियनले शिक्षकहरु सडकमा माग्ने अवस्थामा पुगेको जनाएको हो ।

संस्थागत विद्यालयमा काम गरेर जिविका चलाइरहेका शिक्षक तथा कर्मचारीहरूको तलब भत्ता रोकेर विद्यालय सञ्चालकले बाँच्न पाउने अधिकार माथि हस्तक्षेप गरेको शिक्षक युनियन बिर्तामोड नगर समितिकी अध्यक्ष रमा ढुङ्गानाले बताइन् ।

पारिश्रमिक नपाएर समस्यामा परेपछि शिक्षक युनियनले आज बिर्तामोड नगरपालिकाको कार्यालय पुगेर उपप्रमुख पवित्रा महतारा प्रसाईंलाई ज्ञापनपत्र बुझाएको छ ।

बिर्तामोड नगर क्षेत्रका अधिकांश निजी विद्यालयले २०७६ सालको दिनुपर्ने पारिश्रमिकसमेत रोकेर रमिता देखाइरहेको अध्यक्ष ढुङ्गानाले बताइन् । बर्षभरी काम गरेका शिक्षक लाई संरक्षण गर्नुपर्ने दायित्व भएपनि त्यसबाट संस्थागत विद्यालय पछाडि हटेका छन् ।

संस्थागत विद्यालय शिक्षक युनियन नगर समितिका सचिव सीएम खरेलका अनुसार अहिले शिक्षकहरूको शान्तिपूर्ण आन्दोलन जारी छ । उनले असोज देखि सञ्चालन गरिने भनिएका सञ्चालन गर्न पूर्व आफूहरुले पाउनुपर्ने पारिश्रमिक भुक्तानी नभए कडा संघर्षमा उत्रिने चेतावनी दिए ।

शिक्षक युनियनले अविलम्ब वार्ताको वातावरण बनाउँदै आफूहरुले पाउनुपर्ने तलब भत्ताको सुनिस्चितता गरिदिन बिर्तामोड नगरपालिकासँग अपिल पनि गरेको छ ।