भद्रपुरका दुई कृषि सहकारीबीच एकीकरण



 

भद्रपुर– झापाको भद्रपुरका दुई कृषि सहकारीबीच बुधबार एकीकरण भएको छ । एउटै उद्देश्य बोकेका भद्रपुर–९ स्थित प्रकाश कृषि सहकारी संस्था र चन्द्रगढी मूल एकता कृषि सहकारी संस्थाबीच एकीकरण भएको हो ।

स्थानीय मुना भवनमा एकीकरण समितिका संयोजक विष्णुप्रसाद शिवाकोटीको अध्यक्षतामा आयोजित संक्षिप्त कार्यक्रमका बीच भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले  दुई सहकारीबीच एकीकरण भएको घोषणा गरे ।

एकीकरणपछि संस्थाको नाम प्रकाश एकता कृषि सहकारी संस्था राखिएको छ । दुबै सहकारीबाट प्रतिनिधित्व रहने गरी तदर्थ सञ्चालक समिति पनि गठन गरिएको छ ।

गोपालप्रसाद श्रेष्ठको अध्यक्षतामा गठित समितिको उपाध्यक्षमा मञ्जु पोखरेल, सचिवमा सन्तोष खड्का, सहसचिवमा मञ्जु राउत र कोषाध्यक्षमा शालिग्राम नेपाल रहेका छन् ।

सदस्यमा नूतन ढकाल, रुद्रप्रसाद खतिवडा, गोपालकृष्ण भट्टराई, शिवप्रसाद सापकोटा, गोकुल ढकाल र कमला दाहाल चयन भएका छन् । तीन सदस्यीय लेखा समितिको संयोजकमा अविनारायण निरौला र सदस्यमा अमर जोशी र दुर्गा न्यौपाने रहेका छन् ।

संस्था एकीकरणपछिका बाँकी काम सम्पन्न गरी साधारणसभाबाट नयाँ सञ्चालक समिति निर्वाचित गरिने एकीकरण समितिका संयोजक शिवाकोटीले बताए ।

कार्यक्रममा एकीकरण विवाद निरुपण समितिका संयोजक दुर्गाप्रसाद भट्टराई, वशिष्ठ अधिकारी लगायतले एक व्यक्ति एक सहकारी सदस्य नीति कार्यान्वयन तथा सहकारीमा पूँजी एकीकृतमा एकीकरणले सहयोग पुग्ने बताए ।