ताप्लेजुङको नेपाल–चीन सीमामा बिओपी स्थापना



 

ताप्लेजुङ–नेपाल र चीनको सिमानामा पर्ने ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ मौवाटारमा बोर्डर आउट पोस्ट बिओपीको स्थापना भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययमन्त्री योगेश भट्टराईले बुधवार बिओपी उद्घाटन गरेका हुन् ।

सिमानाको सुरक्षार्थ ओलाङचुङगोलालाई अस्थायी मुकाम बनाएर काम गरिने भएकोले बिओपी उद्घाटन गरिएको हो । सीमा क्षेत्र मौवाटारमा रहने बिओपी केन्द्र अहिले भने ओलाङचुङगोलामा उद्घाटन गरिएको र सो क्षेत्रमा भवनसहितको संरचना बनेपछि मात्र उता लगिने जनाइएको छ ।

मौवाटारमा अहिले भवनसहितको संरचना नभएकोले भवन नबनुञ्जेलसम्मका लागि ओलाङचुङगोलामा बिओपी टोली रहने र मौवाटारमा भवन बनेपछि गोलाबाट त्यहाँ स्थानान्तरण हुने सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले जानकारी दिए ।

तत्काल प्रहरी निरीक्षकको कमान्डमा २० जना जनशक्ति यहाँ रहने जनाइएको छ । मौवाटारमा संरचना बनेपछि भने ५० जनासम्म जनशक्ति रहने जानकारी सशस्त्र प्रहरीले दिएको छ ।