“चाहिन्न केही अरू”



झापाका सामाजिक अभियन्ता महेन्द्रकुमार गिरीका विषयमा लक्ष्मीपुर निवासी कवि नारायणप्रसाद निरौलाले शार्दूलविक्रीडित छन्दमा कविता लेखेका छन् । सहारा नेपाल सहकारीका कार्यकारी निर्देशक गिरी ‘एकका लागि एक’ अभियानका संयोजक पनि हुन् । उनलाई सरकारले नेपाल रत्नबाट विभूषित गर्ने निर्णय पनि गरिसकेको छ । गिरीको मानवीय तथा परोपकारी भावनालाई चित्रण गर्दै कवि निरौलाले कविता रचना गरेका हुन् ।
कवि नारायणप्रसाद निरौला
कोही भोक र रोग, सोक नपरुन्, छानो बनोस् कामना,
निन्दा गर्न, बिथोल्न, रोक्न नसकून्, तिम्रा सफल् काममा।

सारा गाउँ समाजको भर तिमी, बन्दै सहारा बरू,
तिम्रो नाम महेन्द्र एक नमरोस् चाहिन्न केही अरू।।१

तिम्रो “मन्दिर” आर्तको घर बनोस्, सेवा बनोस् पूजन,
तिम्रो हात पुगोस् सधैं जखममा, दुख्तै गरेका मन।

जाँदा लान सकिन्न दौलत कुनै, खाता र पाताहरू,
बाँचेसम्म सदैव “मानिस” बनेस् चाहिन्न केही अरू।।२

तिम्रो जीवन लम्कियोस् जगतमा सम्मानभन्दा अघि,
“मान्छे” को शुभ नाम धारण गरोस् “विद्वान”भन्दा पनि।

तिम्रो देह ढलेर “पार्थिव” हुँदा, सन्सार साराहरू,
रोऊन् लास – समीप मानिसहरू चाहिन्न केही अरू।।३

लाल्सा लोभ नहोस् किमार्थ कहिले, सामर्थ्य गर्दै जुट,
आफ्नै राष्ट्र समाज चित्रण गरी, नक्सा बनाऊ उठ।

बड्नू नित्य र सत्य, अग्र पथमा, घाँटी छिनालोस् बरु,
तिम्रा सामु समाज सत्य उभिए, चाहिन्न केही अरू।।४

मिलुन् दैनिक भोक मेट्न सकिने, खाना खजानाहरू,
हाँसुन् पेट भरेर गुन्द्रुक ढिँडो, झुप्रा र छानाहरू।

पीडा दुस्ख अभाव भोग्नु नपरोस्, बन्दै सहारा बरू
तिम्रो नाम महेन्द्र एक नमरोस् चाहिन्न केही अरू।।५
२०७७–६–२२