बेवास्ताले फैलिँदैछ झापामा कोरोना



बिर्तामोड– कोरोना सङ्क्रमणको त्रासका बीच सरकारले सार्वजनिक यातायात र बजार खुला गरेपछि सर्वसाधारण पूर्ववत दैनिकीमा फर्किएका छन् । तर, यसले कोरोना सङक्रमण भने बढाउँदै लगेको छ । आवश्यक स्वास्थ्य सुरक्षाविना बजार क्षेत्रमा बढेको भीड र चहलपहलले थप जोखिमको सामना गर्नुपर्ने देखिएको चिकित्सकहरु बताउँछन् ।

समुदाय तहमा संक्रमण फैलिसकेकाले संक्रमण दर ह्वात्तै बढ्न सक्ने उनीहरुको आँकलन छ । ‘सरकारले तोकेको मापदण्ड पालना गर्नुको विकल्प छैन’, कनकाई अस्पतालमा कार्यरत डाक्टर डिके आचार्यले भने, ‘मास्कको प्रयोग अनिवार्य छ । भीडबाट जोगिन सकेको खण्डमा पनि सङ्क्रमणको जोखिम कम हुन्छ ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्कलाई आधार मान्ने हो भने, लक डाउन खुलेपछि कोरोना संक्रमणको दर उच्च हुँदै गएको छ । तर, सर्वसाधारण भने कोरोनालाई वेवास्ता गर्दै हिँडिरहेको देख्न सकिन्छ । सडकमा बढेको सवारी चाप र बजार क्षेत्रमा देखिएको भीडले पनि कोरोना संक्रमण फैलिनेप्रति सर्वसाधारणको बुझाई कमजोर हुँदै गएको छ । ‘सधैँ कोरोनाको त्रासमा बस्न सकिँदैन’, बिर्तामोडका स्थानीय खेम मिश्रले भने ।

भारतीय सीमावर्ती जिल्ला भए पनि झापामा कोरोना संक्रमण दर तराईका अरु जिल्लाको तुलनामा कम छ । तर, सर्वसाधारणको बढ्दो वेवास्ताले एकैपटक भयावह अवस्था सिर्जना हुने हो कि भन्ने डर पनि उत्तिकै रहेको सरोकारवाला बताउँछन् । ‘यस्तो लापरवाही अवस्थाले त झन् बढ्छ’, डाक्टर आचार्यले भने ।

असोज तेस्रो सातासम्म झापामा १००३ जनामा सङ्क्रमण देखिएको छ । समुदाय तहमा सङक्रमण फैलिएसँगै मानवीय क्षतिका घटना पनि बढेका छन् । हालसम्म कोरोना संक्रमणले झापामा ११ जनाको मृत्यु भएको छ । चिकित्सकहरुका अनुसार कोरोना संक्रमण हुनबाट जोगिने एउटा उपाय भनेको मास्क र सेनिटाइजरको प्रयोग हो ।

यो भन्दा ठूलो उपाय भीडबाट जोगिनु रहेको उनीहरु बताउँछन् । तर, सरकारले भने जसरी सामाजिक दूरी कायम गर्दै मास्क र सेनिटाइजरको प्रयोग गर्न सर्वसाधारण उदासीन देखिएका छन् । यसले कोरोना संक्रमण अझै भयावह बन्दै खतरा देखिएको छ ।