पन्तलाई एक लाखको रुद्रप्रसाद ओली स्मृति राष्ट्रिय कृषि पुरस्कार



 

फाइल तस्वीर

बिर्तामोड– रुद्र–गौरी श्री–अम्बिका ओली प्रतिष्ठान भद्रपुरले गोरखाका राजेन्द्रराज पन्तलाई रुद्रप्रसाद ओली स्मृति राष्ट्रिय कृषि पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । विज्ञहरु सम्मिलित पुरस्कार निर्णायक समितिबाट प्राप्त सिफारिसका आधारमा पन्तलाई उक्त पुरस्कार दिन लागिएको हो ।

पुरस्कारको राशि एकलाख एकहजार एकसय एघार रुपैयाँ रहेको प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओलीले बताए । पालुङ्गटार नगरपालिका–७ च्याङ्गलीका स्थायी बासिन्दा पन्तले परिवारको रेखदेखमा २०५२ सालदेखि कामधेनु गाई पालन केन्द्र सञ्चालन गर्दै आएका छन् ।

सातवटा गाई पालेर सुरु गरिएको केन्द्रमा हाल तीनसय ५० वटा गाई छन् । दैनिक एक हजार तीनसय ५० लिटर दूध उत्पादन भइरहेको छ । केन्द्रले मासिक २१ लाख रुपैयाँको कारोवार गर्छ । दूध उत्पादन, प्रशोधन र बजारीकरणका साथै नश्ल सुधारमा पनि पन्तले काम गर्दै आएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानले एकाउन्न हजार एकसय एघार रुपैंयाँ राशिको श्रीप्रसाद ओली स्मृति साहित्यिक पुरस्कार नेपाल संस्कृत विश्वविद्यालयका पूर्व प्राध्यापक डा. भीम खतिवडालाई प्रदान गरेको छ ।