
बिर्तामोड– क्षितिज नाट्य समूह झापाको अगुवाईमा झापाको बिर्तामोड–१ देवी पञ्चकन्या उत्तरमा निर्माणाधीन जातिय संग्रहालय सहितको ‘झापा नाटक घर’ का लागि पत्रकार रोशन भट्टराईसहित दुई जनाले सहयोग गरेका छन् ।
शनिबार नाटक घर परिसरमा आयोजित कार्यक्रममा पत्रकार भट्टराईले आफ्नो जन्मदिनको अवसर पारेर एक इँटा अभियान अन्तर्गत १५५ वटा इँटा बराबरको रकम हस्तान्तरण गरेका हुन्। उनले जन्मोत्सवको खर्चलाई कटौती गर्दै थोरै भए पनि सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरे ।
भट्टराई झापाको बुधबारेबाट प्रकाशित हुने बुद्धशान्ति साप्ताहिकका सम्पादक हुन् । अभियान अन्तर्गत नाट्य विधाकी कलाकार शृष्टि आचार्य र मदन आश्रित चुडालले अभियानमा क्रमशः ६ हजार र ४ हजार रुपैयाँ प्रदान गरेका छन् ।
क्षितिज नाट्य समूहका अध्यक्ष माधव कल्पितलाई उक्त रकम हस्तान्तरण गरिएको हो । अध्यक्ष कल्पितले सबैको सहयोगले झापा नाटक घरको निर्माण पूरा हुने विश्वास व्यक्त गरेका छन् ।