चन्द्रगढी सामुदायिक वनको २१ औँ परिषद शुरु



 

भद्रपुर– झापाको भद्रपुर ९ स्थित चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूहको २१ औं परिषद भेला शनिबार शुरु भएको छ । कोरोना भाइरसको जोखिमका कारण तीन चरणमा गर्न परिषद् गर्न लागिएको समूहका अध्यक्ष हिराप्रसाद पोखरेलले बताए ।

भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले गमलाको फूलमा पानी हालेर भेलाको उद्घाटन गरेका छन् । समूहकी सचिव शकुन्तला पोखरेलले सञ्चालन गरेको समारोहमा अध्यक्ष पोखरेलले समूहको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरे ।

प्रतिवेदन अनुसार समूहले आर्थिक वर्ष २०७६–७७ मा दुई करोड ३५ लाख दुई हजार १४६ रुपेयाँ आम्दानी गरेको छ । काठ बिक्री तथा लिलामीबाट यो आम्दानी भएको हो ।

समूहले वर्ष तीन करोड पाँच लाख पाँच हजार ६४० रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेको थियो । कोरोना लगायतका कारणले लक्ष्य हासिल गर्न नसकिएको अध्यक्ष पोखरेलले बताए ।

झण्डै २२ सय वर्ष पुरानो मानिएको ऐतिहासिक चन्द्रगढसमेत रहेको चन्द्रगढी समुदायिक वनले जिल्लामा पहिलो पटक वैज्ञानिक वन व्यवस्थापनको कार्य गरेको थियो ।

प्रतिवेदन अनुसार समूहले अति विपन्न उपभोक्ताहरुलाई अत्यन्त सहुलियमा काठ उपलब्ध गराउँदै आएको छ भने निःशुल्क रुपमा खाट वितरण गरेको छ ।

सभाको पहिलो दिन साविक चन्द्रगढी गाविसको वडा नं २ र ६ का उपभोक्ताको सहभागिता रहेको थियो भने आइतबार ४ र ९ र सोमबार ३ र ५ का उपभोक्ताको सहभागिता रहने समूहका कोषाध्यक्ष अनुज खतिवडाले बताए ।