प्रतिष्ठानमा बेड अभाव : सुत्केरी र नवजात शिशु चिसो भुइँमा



 

धरान– आवश्यक जनशक्ति, उपकरण र पर्याप्त पूर्वाधारको अभावमा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विरामीको बिचल्ली हुन थालेको छ ।

विरामीको बढ्दो चापका कारण बेड पाउन मुस्किल भएपछि गर्भवती, सुत्केरी महिला र नवजात शिशुको बिचल्ली हुने अवस्था आएको हो ।

कोरोना जोखिमका बीच अस्पताल पुगेका गर्भवती चिसो भुईमा बस्न बाध्य छन् । सुत्केरी भएपछि पनि उनीहरुलाई बेड पाउन समस्या छ । एउटै बेडमा दुई जनासम्म सुत्केरी राखिएका छन् ।

आवश्यक बेड, जनशक्ति र पूर्वाधार व्यवस्थापनको अभावले भुइँमै सुत्केरी गराउनुपर्ने बाध्यता रहेको प्रसूति विभागका कार्यबाहक विभागीय प्रमुख डा. पप्पु रिजालले बताए ।

प्रतिष्ठानको प्रसूति वार्डमा ३४ वटा बेड छन् । तर, त्यहाँ दुईजना नर्सले सुत्केरी र नवजात शिशुको हेरचाह गर्नुपर्ने अवस्था छ । प्रतिष्ठानमा दरबन्दी अनुसारको जनशक्ति नहुँदा समस्या हुने गरेको डाक्टर रिजालले बताए ।

प्रतिष्ठानमा सात सय नर्सको दरबन्दी छ । तर, चार सय ५० मात्रै कार्यरत छन् । तीमध्ये कतिपय बिदामा बस्दा झन् समस्या हुने गर्छ ।