फरक क्षमता भएकालाई बाख्रापालन तालिम



 

झापा–फरक क्षमता भएका व्यक्तिका लागि पाँचदिने बाख्रापालन तालिम आजबाट शुरु भएको छ । झापा नेत्रहीन संघले आयोजना गरेको तालिमको विर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार शिवाकोटीले उद्घाटन गरेका छन् ।

कार्यक्रममा मेयर शिवाकोटीले यस्ता कार्यक्रमले फरक क्षमता भएका व्यक्तिको आर्थिक उन्नतिमा टेवा पुग्ने बताए । तालिममा झापाका विभिन्न पालिकाका २० जना नेत्रहीन सहभागी छन् ।

तालिमको समन्वय नेपाल नेत्रहीन संघले गरेको हो । सिलोम सेन्टर फर द ब्लाइन्ड कोरियाले आर्थिक सहयोग गरेको कार्यक्रममा सहभागी हुनेले यसअघि नै बाख्रा खरिद गरिसकेका छन् ।

बाख्रा खरिदका लागि प्रत्येकलाई २० हजारका दरले चार लाख रुपैयाँ यसअघि नै हस्तातरण गरिएको झापा नेत्रहीन संघका अध्यक्ष द्रोणाचार्य निरौलाले बताए ।

कार्यक्रममा नेपाल नेत्रहीन संघका केन्द्रिय निर्देशक नरबहादुर लिम्बुले तलिमको अन्त्यमा प्रत्येक प्रशिक्षार्थीलाई १ सय ५० किलोका दरले दाना समेत उपलब्ध गराइने जानकारी दिए । तालिमको सहजीकरण पशु चिकित्सक कमल खनाल र मदन भण्डारीले गरिरहेका छन् ।