राजगढमा ‘एभरेष्ट सस्तो बजार’



 

बिर्तामोड– दक्षिणी झापाको राजगढमा ‘सपिङ मल’ सञ्चालनमा आएको छ । बैदेशिक रोजगारीमा बसेर फर्किएका बाह्रदशी गाउँपालिका–२ का चान महमदले राजगढ बजारमा एभरेष्ट सस्तो बजारका नामबाट सपिङ मल सञ्चालनमा ल्याएका हुन् ।

एक करोड ५० लाख रुपैयाँको लगानीमा सपिङ मल सञ्चालन गरेको महमदले बताए । सस्तो वजारमा खरिद गरेको सामग्री अन्य ठाउँमा खरिद गरेको भन्दा कम मूल्यमा उपलब्ध हुने उनी बताउँछन् ।

सस्तो बजारका नामबाट सञ्चालनमा आएको सपिङ मलको उद्घाटन बाह्रदशी गाउँपालिकाका अध्यक्ष खड्गप्रसाद राजवंशीले गरेका छन् । सपिङ मलको उद्घाटन गर्दै अध्यक्ष राजवंशीले स्मार्ट सिटीका रुपमा विकास भइरहेको राजगढलाई सस्तो वजारले थप टेवा पुग्ने बताए ।

दक्षिण क्षेत्रका सर्वसाधारण किनमेलका लागि बिर्तामोड लगायतका अन्य वजार जानु पर्ने बाध्यता अब हटेको पशुपति माध्यमिक विद्यालयका शिक्षक मोहनप्रसाद ओलीले बताए ।

पुरानो वजारका रुपमा चिनिएको राजगढमा यस खाले मल यसअघि सञ्चालनमा नरहेकाले सबैलाई यसले फाइदा पुग्ने बिर्तामोड उद्योग वाणिज्य संघका सदस्य एजाज अहमद अन्सारीले बताए ।

यसअघि महमदले नै साढे चार करोड रुपैयाँ लगानी गर्दै स्मार्ट सिटीका रुपमा  राजगढमा एभरेष्ट सिनेमा हल समेत सञ्चालनमा ल्याएका थिए ।