सिम्रिकद्वारा बजार प्रतिनिधिको छ लाख कर्जा मिनाहा



 

बिर्तामोड– सिम्रिक बचत तथा ऋण सहकारी संस्थामा बजार प्रतिनिधिका रुपमा कार्यरत रहँदै निधन भएकी सुकमती राजवंशीको परिवारलाई ६ लाख २९ हजार ५०० रुपैयाँ कर्जा मिनाहा दिएको छ ।

मेचीनगरको इँटाभट्टास्थित राजवंशीको घरमा पुगेर परिवारजनमा समवेदना व्यक्त गर्दै सिम्रिक साकोसले सुकमतिको काजकिरिया खर्चका लागि ३० हजार रुपैयाँ राहत सुविधा पनि प्रदान गरेको छ ।

सुकमतिले संस्थाबाट लिएको कर्जा १० लाख २९ हजारमध्ये संस्थामा रहेको बचत एवम् सुविधाहरु कटाएर ६ लाख २९ हजार ५०० रुपैयाँ कर्जा मिनाहा घोषणा गरेको हो ।

मेची सेवा केन्द्र काँकरभिट्टाका बजार प्रतिनिधि सुकमतिको असोज १४ गते २९ वर्षको उमेरमा असामयिक निधन भएको थियो । संस्थाका सचिव सुवास भट्टराईले सुकमतिका छोराछोरीलाई कक्षा १२ सम्म अध्ययन गर्न संस्थाले तीन लाख रुपैयाँ मुद्धति बचत गरिदिने घोषणा गरेका छन् ।

सोबाट प्रत्येक वर्ष प्राप्त हुने ३३ हजार रुपैयाँ ब्याजले नानीहरुको पढाइमा भरथेग गर्ने संस्थाको विश्वास रहेको भट्टराईको भनाई छ ।  यसरी नै बच्चाहरु साबालक भएपछि उक्त रकम फिर्ता दिइने तथा स्नातक तह अध्ययन गर्न सहजताका लागि मासिक दुई हजार रुपैयाँका दरले बचत गरिदिने घोषणा गरिएको छ ।

वार्षिक २४ हजारका दरले १५ वर्षसम्म बचत गरिदिने संस्थाको निर्णय सुनाउँदै भट्टराईले सहकारीमा काम गर्ने कोही कसैको परिवारमा संकट आउँदा सिम्रिकले पूर्ण अभिभावकत्व लिने गरेको प्रष्ट पारे ।

संस्थाका अध्यक्ष कमलबहादुर बस्नेतले सुकमतिका परिवारलाई काजकिरिया खर्च र समवेदनापत्र हस्तान्तरण गर्दै राजवंशी परिवारको साथमा सिम्रिक रहेकोले धैर्य गर्न आग्रह गरे ।