झापामा सिँचाइ र तटबन्धनमा ७३ करोड बढी खर्च



 

रोहित काफ्ले भद्रपुर– धान, मकैजस्ता खाद्यान्न उत्पादनमा अग्रणी मानिने झापामा अघिल्लो वर्ष जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालयले सिँचाई र तटबन्धनमा ७३ करोड भन्दाबढी रकम खर्च गरेको छ ।

यद्यपि, १० करोडभन्दा बढी बजेट खर्च हुन सकेन । कार्यालयले नयाँ सिँचाइ योजना, पुराना योजनाहरुको स्तरीकरण, मर्मत एवम् विभिन्न नदी–खोलामा तटबन्धनका लागि उक्त रकम खर्च गरेको हो । आ. व. ०७६÷०७७ को प्रगति विवरण अनुसार कुल ८५ करोड ३५ लाख ३५ हजारमध्ये ७३ करोड ९९ लाख २३ हजार रुपैयाँ खर्च भएको छ ।

संघीय सरकारबाट प्राप्त २१ करोड १० लाख ७३ हजारमध्ये १३ करोड ७७ लाख ६४ हजार र प्रदेश सरकारबाट प्राप्त ६३ करोड १५ लाखमध्ये ५८ करोड ४७ लाख ८३ हजार रुपैयाँ खर्च भएको छ ।

चालुतर्फ प्राप्त एक करोड ८ लाख ७३ हजारमध्ये एक करोड चार लाख २७ हजार रुपैयाँ खर्च भएको कार्यालय प्रमुख कृष्णप्रसाद राजवंशीले जानकारी दिए ।

संघबाट प्राप्त बजेटमा ६५.२७ प्रतिशत प्रगति भएको छ भने प्रदेश सरकारबाट प्राप्त बजेटमा ९२.६० प्रतिशत प्रगति भएको छ । समग्रमा पूँजीगततर्फ ८५.८७ प्रतिशत र चालुतर्फ ९५.१२ प्रतिशत प्रगति भएको प्रतिवेदनमा उल्लेख छ ।

कार्यालयले मुख्यतः सिँचाइका क्रमागत योजनामा खर्च गरेको छ भने केही नयाँ आयोजना सम्झौता र केही नयाँ आयोजनाका लागि डीपीआर तयारीमा खर्च गरेको कार्यालय प्रमुख राजवंशीले बताए ।

गतवर्ष मझौला सिँचाइ आयोजनाअन्तर्गत तल्लो किस्ने सिँचाइ योजना गौरीगञ्ज, सानो माई सिँचाइ योजना टाघनडुब्बा सम्पन्न भएका आयोजना हुन् भने अन्य ६ वटा योजना प्रगति उन्मूख छन् ।

सिँचाइ प्रणाली पुनस्र्थापना आयोजना अन्तर्गत बंगुरभिट्टा तीनमुखे सिँचाइ योजना काँकरभिट्टा सम्पन्न भएको छ भने समुदायले व्यवस्थापन गरेको एकीकृत विरिङ खोला सिँचाइ योजना बुद्धशान्तिको ९० प्रतिशत काम सम्पन्न भएको कार्यालयले जनाएको छ ।

सो वर्ष २२ वटा सिँचाइ आयोजनाको मर्मत–सम्भार गरियो भने नयाँ प्रविधिमा आधारित एउटा योजना सञ्चालन गरिएको थियो । यस्तै, नदी नियन्त्रणका दुईवटा योजना सम्पन्न भएको कार्यालयले जनाएको छ ।

सम्पन्न भएका योजनामा देउनिया नदी नियन्त्रण र गेउरिया नदी नियन्त्रण योजना रहेका छन् । चालु आर्थिक वर्षका लागि भने अघिल्लो वर्षको तुलनामा आधा बजेट प्राप्त भएको पनि प्रमुख राजवंशीले जानकारी दिए ।