झापामा डरलाग्दो गरी फैलियो कोरोना, एकैदिन ५४ जना संक्रमित



 

बिर्तामोड– झापामा कोरोना भाइरसको संक्रमण दर उच्च हुँदै गएको छ। समुदाय तहमा संक्रमण फैलिँदै गएपछि संक्रमितको संख्या थपिँदै गएको हो ।

स्वास्थ्य कार्यालय झापाका अनुसार विहीबार एकैदिन ५४ जना संक्रमित थपिएका छन् । १९ जना महिला र ३५ जना पुरुषमा संक्रमण देखिएको कोरोना फाेकल पर्सन जीवन चौलागाईले बताए ।

कार्यालयका अनुसार झापामा सबैभन्दा बढी संक्रमित बिर्तामोडमा फेला परेका छन् । सात जना महिला र २३ जना पुरुषमा संक्रमण देखिएको हो । बिर्तामोडका संक्रमित सबै स्थानीय हुन् ।

भद्रपुर नगरपालिकामा सात जना र अर्जुनधारा नगरपालिकामा १० जनामा संक्रमण देखिएको छ । अर्जुनधाराका संक्रमितमध्ये दुई जना स्वास्थ्यकर्मी पनि छन् । दमकमा तीन जनामा सङ्क्रमण भेटिएको छ ।

कनकाई, कमल, बुद्धशान्ति र गौरादहमा एक/एक जनामा सङ्क्रमण देखिएको छ । नयाँ थपिएका सँगै झापामा संक्रमितको संख्या १२२१ पुगेको छ । तीमध्ये ९१२ जना संक्रमित डिस्चार्ज भएका छन् ।

समुदाय तहमा संक्रमण फैलिँदै जाँदा झापामा सक्रिय संक्रमितको संख्या पनि बढेको छ । झापामा २९७ जना सक्रिय संक्रमित छन् । संक्रमणका कारण झापामा बिहीबारसम्म १२ जनाले ज्यान गुमाएका छन् ।