एसियन हाइवेको पहुँचमा नेपाल : फेरियो सीमावर्ती सहर काँकडभिट्टा



 

सुब्रत न्यौपाने– (तस्वीरहरु–विष्णुकुल श्रेष्ठ)

सडक सञ्जाल विस्तार गर्ने एसियाली राष्ट्रहरुबीच भएको सहमति अनुरुप ‘एसियन हाइवे’ मा नेपाल पनि जोडिएको छ । पूर्वी नेपालको सीमावर्ती सहर काँकडभिट्टालाई एसियन हाइवेले छोएको हो । भारतले पश्चिम बंगाल हुँदै काँकडभिट्टासम्म ‘एसियन हाइवे’ विस्तार गरेको छ ।

‘सडक सञ्जाल फराकिलो हुँदा सीमावर्ती नाकाहरु झन् चलायमान हुन्छन्’, मेची उद्योग वाणिज्य सङ्घका अध्यक्ष ऋषि तिम्सिना भन्छन्, ‘एशियन हाइवेको पहुँचमा नेपाल पुग्नु आफैँमा सकारात्मक प्रयत्न हो । यसले व्यापार प्रवद्र्धन, बजारीकरण र आयात निर्यातमा पनि सहजता थपिदिन्छ ।’

एसिया उपक्षेत्रीय आर्थिक सहयोग–सडक सञ्जाल परियोजना अन्तर्गत एसियाली विकास बैंकको सहयोगमा मेची नदीमा चार लेनको ‘मितेरी पुल’ बनेको छ । मेची नदीमा चार लेनको पुल निर्माण भएपछि ‘ए क्लास’ को एसियाली राजमार्गसँग नेपालको पहुँच जोडिएको सडक विभागका महानिर्देशक केशवकुमार शर्मा बताउँछन् ।

‘पुल सञ्चालनमा आएपछि अब नेपालको पहुँच ए क्लासको ‘एसियन हाइवे’ सँग जोडिएको छ’, उनले भने, ‘एशियाली राजमार्गका आफ्नै विशेषता र मापदण्ड छन्, तिनका आधारमा राजमार्गको बर्गीकरण हुन्छ ।’

करिब डेढ अर्ब भारतीय रुपैयाँ ऋण सहयोगमा भारतले छ लेन सडकसहित नेपाल–भारत सीमा छुट्याउने मेची नदीमा ७९० मिटर लामो पुल बनाएको हो । ‘जीर्ण र साँघुरो अवस्थाको मेची पुलले धेरै धान्न सक्ने अवस्था थिएन’, लाइन्स क्लव अफ मेचीनगरका अध्यक्ष शङ्कर थापाले भने, ‘नयाँ पुल बनेपछि बाटो रहरलाग्दो भएको छ ।’

साँघुरो पुलका कारण सीमा नाकाको आवागमन सधैँ असहज हुने गरेको अध्यक्ष थापा सम्झिन्छन् । ‘मालवाहक सवारी पुलमा पार्किङ हुँदा झन् समस्या हुन्थ्यो’, व्यवसायी समेत रहेका थापाले भने, ‘अब ती सबै समस्या एकसाथ समाधान भएका छन् ।’ एसियन हाइवेको बिस्तारले पर्यटक आगमन बढ्ने थापाले बताए ।

व्यापार विस्तार र प्रवद्र्धनका हिसाबले ‘एसियन हाइवे’ को विस्तार नेपालका लागि एउटा अवसर हुने सङ्घका अध्यक्ष तिम्सिना बताउँछन् । ‘भारतसँगको व्यापार सहजीकरणमा त यसले झन् महत्व राख्छ’, अध्यक्ष तिम्सिनाले भने । भारतसँगै छिमेकी बंगलादेश र भुटान नेपालका नजिकका व्यापारिक साझेदार हुन् । उनीहरुसँगको व्यापारमा पनि सडक सञ्जालको विस्तारले रणनीतिक महत्व राख्ने अध्यक्ष तिम्सिनाले बताए ।

काँकडभिट्टा यस्तो नाका हो, जहाँबाट भारत, भुटान र बंगलादेश पुगेर एकै दिनमा फर्किन सकिन्छ । बिहान गएर बेलुका फर्किने दूरीमा छन् बंगलादेश र भुटान पनि । पश्चिम बंगालको बागडुग्रा विमानस्थलमा उत्रिएपछि काँकडभिट्टा आइपुग्न आधा घण्टा लाग्छ । काँकडभिट्टाबाट भद्रपुर विमानस्थल पनि आधा घण्टाको दूरीमा छ । झापा हुँदै काठमाडौँ जान पनि पर्यटकलाई सहज छ ।

‘स्थलमार्गबाट भित्रिने पर्यटकको चाप अब नेपालमा बढ्छ’, अध्यक्ष तिम्सिनाले भने, ‘अझ नेपाल छिरेका बंगलादेशी पर्यटकले फर्किदा भारतीय बाटो पाउने हो भने यहाँ थामिनसक्नुको भीड हुन्छ ।’ बंगलादेशबाट नेपाल भित्रिएका पर्यटकले फर्किने बेलामा भारतीय बाटो प्रयोग गर्न पाउँदैनन् । भारत र तेस्रो देशसँगको व्यापारका लागि पनि ‘एसियन हाइवे’ को विस्तारले ठूलो उपलब्धि हासिल हुने तिम्सिनाले बताए ।

‘नेपाल भारत सीमाको मेची नदीमा बनेको पुल जीर्ण हुँदै गर्दा धेरैलाई चिन्ता थियो । अब नयाँ पुल बन्छ या यसैलाई मर्मत गरेर काम चलाइन्छ’ उनले भने, ‘अब त्यो अवस्था रहेन । पुल चार लेनको बनिसक्यो । सीमावर्ती सहर काँकडभिट्टा अब हिजोको जस्तो छैन ।’

‘एसियन हाइवे’ विस्तार भएपछि सीमावर्ती सहर काँकडभिट्टाको स्वरुप फेरिएको छ । फराकिलो सडक सीमासम्म आइपुग्दा स्थानीयबासी पनि उत्साहित छन् । मेची पुलमा फोटो खिचाउन आउनेहरुको भीड देखिन्छ । दैनिकजसो फराकिलो सडक र मेची पुल हेर्न आउनेहरु बढिरहेका छन् ।

‘आजभोलि आकर्षक र मनमोहक देखिँदो रहेछ काँकडभिट्टा’, उर्लावारीबाट मेचीपुल हेर्न आएका श्रेयल पोखरेलले भने, ‘यस्तै बाटो मेची महाकाली बन्ने हो भने आन्तरिक पर्यटन प्रवद्र्धनमा पनि टेवा पुग्छ ।’ साँघुरो र जीर्ण सडकका कारण मानिसहरु यात्रा गर्न असजिलो महसुस गर्छन् । यात्राले सास्ती दिन्छ भन्ने बुझाइका लागि नेपालका धेरै साँघुरा सडक पर्याप्त छन् । तर, फराकिलो र आकर्षक सडकको यात्रा रमणीय हुन्छ भन्ने अनुभव थोरैलाई मात्र छ ।

२०७३ सालमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले मेची नदीमा पुल निर्माणको सम्झौता गरेका थिए । २०७४ फागुनबाट औपचारिक रुपमा पुल निर्माणको काम सुरु भएको थियो । नेपाल भारत सीमाको मेची नदीमा चार लेनको पुलसँगै काँकडभिट्टा बसपार्कसम्म चार लेन फराकिलो सडक निर्माण भयो, जसलाई ‘एशियन हाइवे’ को एप्रोच रोड भनिएको छ ।

ढलसँगै विद्युतीय पोल राख्ने काम सम्पन्न भएको छ । साँझमा झन् आकर्षक र झलमल देखिन्छ काँकडभिट्टा । भारतले सीमावर्ती पश्चिम बंगालमा दुई वर्षअघि मात्रै एसियन स्तरको हाइवे निर्माण गरेको थियो । यसअघि त्यहाँ पनि भरपर्दाे सडक थिएन । काँकडभिट्टाबाट २८ किलोमिटर नजिकको सिलगुडी पुग्न पनि साँघुरो बाटोमा यात्रा गर्नु पथ्र्याे । अहिले सडक फराकिलो भएको छ । सहजरुपमा आवतजावत गर्न सकिन्छ ।

नेपालको पूर्व–पश्चिम राजमार्ग र अरनिको राजमार्ग ‘एसियन हाइवे’ अन्तर्गत पर्छन् । नेपालको पूर्व–पश्चिम राजमार्गलाई चार लेनमा विस्तार गर्ने काम सुरु भइसकेको छ । एसियन हाइवेको रुट थाइल्यान्डको बैङ्ककबाट सुरु भई म्यान्मार, बङ्गलादेश, भारत हुँदै नेपालको काँकडभिट्टाबाट पूर्व–पश्चिम राजमार्ग भएर भारतको दिल्ली हुँदै पाकिस्तानको कराँची पुग्छ ।