‘रामबाबु सत्य र निष्ठाका प्रतिमूर्ति’



विर्तामोड– नेपालको प्रजातान्त्रिक आन्दोलनका अग्रणी योद्धा खनुपरुदे रामबाबु प्रसाईको नवौं पुण्यतिथि पारेर नेपाली कांग्रेस झापाले शोकसभा गरेको छ । प्रसाईको ९९ बर्षको उमेरमा असोज २३ गते काठमाडौंमा निधन भएको थियो ।

सत्यवादी, निष्ठावान नेताका रुपमा परिचित रामबाबुको ब्यक्तित्वको स्मरण गर्दै झापाका अग्रज नेता डिल्लीप्रसाद सिटौलाले उनी वी.पी.का असल अनुयायी भएको बताए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुधिरकुमार शिवाकोटीले रामबाबु आफ्नो व्यक्तिगत संरक्षक र राजनीतिक प्रशिक्षक रहेको चर्चा गर्दै २०३४ सालमा उहाँकै हातबाट क्रियाशील सदस्यता लिएको स्मरण गरे ।

नेपाली कांग्रेस झापाका सभापति उद्वव थापाले आन्दोलनमा लागेका कारण रामबाबुले प्रवासी जीवन, जेलनेल लगायतका यातना भोगेको स्मरण गरे । रामबाबु गान्धीवादी नेता भएको थापाले बताए ।

प्रसाईको स्मृतिमा एक मिनेट मौनधारण गरी प्रारम्भ भएको कार्यक्रममा पार्टीले तयार पारेको शोक बक्तब्य सचिव प्रेम सम्बाहाम्फेले प्रस्तुत गरेका थिए ।