झर्राेबादी साहित्यकार रेग्मीलाई एक लाखको पुरस्कार



बिर्तामोड– रुद्र–गौरी श्री–अम्बिका ओली प्रतिष्ठान, भद्रपुर झापाले साहित्यकार चूडामणि रेग्मीलाई अम्बिका देवी ओली स्मृति राष्ट्रिय साहित्य पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ । नेपाली साहित्यमा गरेको योगदानको कदर गर्दै प्रतिष्ठानले साहित्यकार रेग्मीलाई उक्त पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो ।

झर्राेबादी अभियानका साहित्यकार रेग्मीलाई प्रदान गरिने पुरस्कारको राशि एक लाख एक हजार एक सय एघार रुपैंयाँ रहेको प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओलीले बताए ।

नेपाली साहित्यमा काव्य, निबन्ध, कथा, समालोचना, हाँस्यव्यङ्ग्य, भाषा व्याकरणमा समानरुपले कलम चलाउने रेग्मी २०१२ सालमा पहिलो यात्रा नामक कथा सङ्ग्रहबाट साहित्यमा आएका हुन् ।

साहित्यकार रेग्मीका चार कथा, आठ निवन्ध, दुई हाँस्यव्यङ्ग्य, सातवटा समालोचना र तीनवटा भाषा ब्याकरण कृति प्रकाशित छन् । यसबाहेक दर्जनौँ साहित्यिक पत्रिकाहरुको सम्पादनमा पनि उनको संलग्नता छ ।

२०१२ सालमा संखुवासभाबाट सुरू भएको झर्रोवादी नेपाली भाषा अभियानका अभियन्ता रेग्मी लगायतले २०१३ मा झर्रोवादी अभियानको कोसेढुङ्गा मानिने ‘नौलो पाइलो’ त्रैमासिक पत्रिका प्रकाशित गरेका थिए ।