साहित्यकार दाहाल, कृषक खतिवडा र असल गृहिणी बराललाई लाल–भागिरथा पुरस्कार



झापा– लाल–भागिरथा बानियाँ प्रतिष्ठानले साहित्यकार, कृषक र असल गृहिणी गरी तीन जना प्रतिभालाई पुरस्कृत गर्ने भएको छ । झापाको मेचीनगर –११ धाइजनस्थित बानियाँ गाउँमा केन्द्रीय कार्यालय रहेको प्रतिष्ठानले आज पुरस्कृत प्रतिभाको नाम घोषणा गरेको हो ।

प्रतिष्ठानले साहित्यतर्फ कनकाई–३ का साहित्यकार मित्रप्रसाद दाहाल, अग्र्यानिक कृषिमा समर्पित मेचीनगर–१४ का कृषक डिल्ली खतिवडा र असल गृहिणी अर्जुनधाराकी यशोदा बराललाई पुरस्कृत गर्ने भएको छ ।

साहित्यकार दाहाललाई ‘लाल भागिरथा बानियाँ उत्कृष्ट प्रतिभा पुरस्कार’, अग्र्यानिक कृषक खतिवडालाई ‘लाल भागिरथा बानियाँ स्मृति कृषि पुरस्कार’ र असल गृहिणी बराललाई ‘लाल भागिरथा बानियाँ असल गृहिणी पुरस्कार’ दिइने प्रतिष्ठानका अध्यक्ष हरिचरण बानियाँले बताए ।

तीन वटै पुरस्कारको नगद राशी जनही ३१ हजार रुपैयाँ छ । पुरस्कार छनोट समितिमा प्रतिष्ठानका अध्यक्ष बानियाँ, मेची बहुमुखी क्याम्पस भद्रपुरका पूर्व प्रमुख कमल गुरागाई र नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य मोहन काजी छन् ।

साहित्यकार दाहालले महाकाब्य लगायतका दर्जनौँ कृति प्रकाशित गरेका छन् भने कृषक खतिवडाले अग्र्यानिक कृषि विज्ञानका क्षेत्रमा नयाँ प्रविधिको प्रयोग गर्दै आएका छन् ।

असल गृहिणी बरालले आफ्ना सन्तानलाई असल संस्कार र शिक्षा दिएर सुखी र समृद्ध परिवार निर्माणमा उदाहरणीय योगदान पुर्याएकी छन् । मङ्सिर २० गते प्रतिष्ठानको कार्यालय धाइजनमा पुरस्कार वितरण कार्यक्रमको आयोजना गरिने अध्यक्ष बानियाँले बताए ।

प्रतिष्ठानले गतवर्षदेखि स्थानीय प्रतिभाहरुको खोजी गरी पुरस्कृत गर्दै आएको छ । राजनीतिक, शैक्षिक र सहकारी क्षेत्रमा अगुवा व्यक्तित्वका रुपमा परिचित हरिचरण बानियाँ र उनका दाजुभाइले स्वर्गवासी पिता लालबहादुर र माता स्व. भागिरथाको स्मृतिमा हरेक वर्ष तीन जना प्रतिभालाई पुरस्कृत गर्ने गरी १० लाखको अक्षयकोष स्थापना गरेका छन् ।