
झापा–आफूले विकास गरेको कोरोना संक्रमण विरुद्धको खोपले ९४ प्रतिशत सफलता पाएको दाबी गर्दै आएको अमेरिकन कम्पनी फाइजरले खोपको आकस्मिक प्रयोग अनुमतिका लागि स्थानीय प्रशासनमा आवेदन दिएको छ ।
फाइजर तथा उसको सहायक बायोटेकले अमेरिकाको खाद्य तथा औषधी प्रशासनमा खोपको आकस्मिक प्रयोग अनुमतिका लागि आवेदन दिएका हुन् । प्रशासनले प्रयोगका लागि सो खोप सुरक्षित रहे नरहेको अध्ययन गर्नेछ ।
खोपको अध्ययन गर्न कति समय लाग्छ भन्ने यकिन नभएपनि आगामी डिसेम्बरको मध्यसम्ममा अमेरिकाले स्वीकृति प्रदान गर्न सक्ने बीबीसीले जनाएको छ ।
खोप प्रयोगका लागि बेलायतले ४ करोड डोज प्रिबुकिङ समेत गरेको छ । जसमध्ये सन् २०२० भित्र १ करोड डोज उपलब्ध गराइसक्नुपर्ने छ ।
अमेरिकामा बढ्दै गएको मृत्युदर कम गर्नका लागि समेत खोपको आवश्यकता देखिएको आवेदनमा उल्लेख गरिएको छ । पछिल्लो समय त्यहाँ गत जुन यताकै सर्वाधिक एकै दिन २ हजार जनाको संक्रमणकै कारण ज्यान गएको छ ।
अमेरिकी प्रशासनले प्रयोगका लागि स्वीकृति दिएमा सो खोप विश्वमै पहिलो हुने जनाइएको छ । सामान्यतया अमेरिकामा कुनै नयाँ खोप स्वीकृतिका लागि औषत समय ८ वर्ष रहँदै आएको छ ।