लागत मात्रै बढ्छ, मूल्य बढ्दैन : निरास छन् चिया किसान



झापा– चिया खेतीप्रति इलाम र झापाका किसानको निराशा बढ्दै गएको छ । सरकारले अपेक्षा अनुसार सहयोग नगरेपछि चिया किसान निराश भएका हुन् ।

हरियो पत्तीको मूल्यका विषयमा सधैं विवाद हुने र लागत समेत उठाउन मुस्किल पर्न थालेपछि चिया किसानमा निराशा बढेको हो । कतिपय किसान विकल्प खोज्ने अवस्थामा पुगेका छन् ।

झापा, इलाम, पाँचथर, धनकुटा, तेह्रथुम लगायतका जिल्लामा १५ हजारभन्दा बढी किसान चिया उत्पादनमा संलग्न छन् । तर सरकारले चिया खेतीका लागि प्रोत्साहनका कार्यक्रम ल्याउन नसक्दा किसानहरु संकटमा पर्न थालेको इलामका किसान डम्बर कटुवालले बताए ।

नेपालमा सबैभन्दा बढी चिया उत्पादन गर्ने जिल्ला झापा हो । तर झापाका चिया किसानले समेत सरकारी सहयोग पाउन सकिरहेका छैनन् । हरियो पत्तीको भाउ नबढ्ने तर उत्पादन खर्च बढ्ने अवस्थाका कारण किसान आर्थिक संकटमा परेको झापा हल्दिबारीका चिया किसान जगतजङ्ग कार्कीले बताए ।