२३ करोड लगानीमा इलाममा सुरु भयो टी टेस्टिङ सेन्टरको निर्माण



 

इलाम– सरकारले इलाममा चिया टेस्टिङ सेन्टरको निर्माण सुरु गरेको छ । प्रदेश सरकारको आर्थिक सहयोगमा टेस्टिङ सेन्टरको निर्माण कार्य प्रारम्भ भएको हो ।

चिया टेस्टिङ सेन्टरका लागि सूर्योदय नगरपालिकाले २० प्रतिशत र प्रदेश १ सरकारले ८० प्रतिशत लगानी गर्नेछन् । २३ करोड रुपैयाँको लगानीमा सेन्टर निर्माण हुनेछ ।

कन्याम चिया बगानसँगै रहेको ११ रोपनी क्षेत्रफलमा निर्माण हुन लागेको टी टेस्टिङ सेन्टर १८ महिनाभित्र पूरा हुने सूर्योदय नगरपालिका प्रमुख रणबहादुर राईले बताए।

नेपाली चियाको उत्पादन, प्रशोधन र बजारीकरण गर्ने उद्देश्यले चिया टेस्टिङ सेन्टर निर्माण सुरु भएको हो । टेस्टिङ सेन्टरको दुई दिनअघि मुख्यमन्त्री शेरधन राईले शिलान्यास गरेका छन् ।

नेपाली चियाको गुणस्तर जाँच नहुँदा अन्तर्राष्ट्रिय बजारमा मूल्य कम छ । टेस्टिङ सेन्टर बनिसकेपछि अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाको माग बढ्ने व्यवसायीको विश्वास छ ।

टेस्टिङ सेन्टरका कारण चियाको अन्तर्राष्ट्रिय बजार विस्तारमा सहयोग पुग्ने चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डा. विष्णु भट्टराईले बताए।