बिर्तामोडमा प्रचण्ड माधव समूहको नेकपाद्वारा प्रदर्शन, जनमतमाथि ओलीले वेइमानी गरेको भट्टराईको आरोप



बिर्तामोड– नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड माधव समूहले आज प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा प्रदर्शन गरेको छ । संसद विघटनको विरोधमा नेकपाले झापाको बिर्तामोडमा सरकारविरुद्ध प्रदर्शन गरेको हो ।

भेलालाई सम्वोधन गर्दै नेकपाका नेता एवम् पूर्व पर्यटनमन्त्री योगेश भट्टराईले संसद विघटन गरेर प्रधानमन्त्री ओलीले नेकपालाई प्राप्त जनमतमाथि वेइमानी गरेको बताए ।

‘उहाँले कुन चाहिँ काम गर्न पाउनु भएन र संसद विघटन गर्नु भयो सबैले सोधौँ’, विरोध सभामा नेता भट्टराईले भने, ‘संसद विघटन जनमतको चरम उपेक्षा हो ।’ उनले पार्टीको निर्णयका पक्षमा उभिँदा सरकारका कैयौँ अलोकप्रिय कामको पनि समर्थन गरेको स्मरण गरे ।

नेता भट्टराईले नेकपाको चुनाव चिन्ह र झण्डा कानुन अनुसार आफूहरुले पाउने दावी गर्दै कोही कसैको भ्रममा नपर्न कार्यकर्ताहरुलाई अपिल पनि गरे । नेकपा झापाका इन्चार्ज रविन कोइरालाले पार्टीको निर्णय नमान्ने स्थानीय तहका जनप्रतिनिधिलाई कार्वाही गर्ने चेतावनी दिए ।