लागूऔषध दुर्व्यसन विषयमा कोहेड कलेजका विद्यार्थीलाई प्रशिक्षण



 

बिर्तामोड– लागूऔषध तथा दुर्व्यसन विषयमा कोहेड कलेजका कक्षा ११ र १२ का विद्यार्थीलाई प्रशिक्षण दिइएको छ । कोहेड टोल विकास संस्थाको आयोजनामा विद्यार्थीका लागि सचेतनामूलक कक्षा सञ्चालन गरिएको हो ।

युवा उमेरका विद्यार्थी कुलतमा फस्ने जोखिम बढी हुने भएकाले उनीहरुलाई प्रशिक्षित गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । डीएसपी मुकुन्द रिजालले विद्यार्थी दुव्यर्सनमा जान नदिने उचित रेखदेख र परामर्शको खाँचो रहेको बताए ।

कोहेडका एकसय भन्दाबढी विद्यार्थीलाई प्रशिक्षण दिँदै डीएसपी रिजालले कोरोना संक्रमणपछि समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत पहिलो कार्यक्रम गरिएको बताए ।

‘लागूऔषध सेवन, ओसारपसार र विक्री वितरणमा किशोरकिशोरीको सहभागिता बढ्दो दरमा छ’, उनले भने, ‘यसकारण उनीहरुलाई प्रशिक्षित गर्न जरुरी छ ।’ कोहेड कलेजका प्रिन्सिपल उमानाथ ओलीको प्रमुख आतिथ्य र कोहेड टोल विकास संस्थाकी अध्यक्ष पार्वता विमली अध्यक्षतामा कार्यक्रम भएको हो ।