झापाका प्रहरी प्रमुख काेइराला र बिर्तामोडका डीएसपी रिजालकाे बिदाई



बिर्तामोड– बिर्तामोड उद्योग वाणिज्य संघ र सहारा नेपालसहित विभिन्न संघसंस्थाले झापाका दुई प्रहरी अधिकारीकाे बिदाई  गरेका छन् ।बिर्तामोडमा आज बिहान आयाेजित कार्यक्रममा झापाका प्रहरी प्रमुख एसपी कृष्णप्रसाद काेइराला र इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी मुकुन्द रिजाललाई बिदाई गरिएको हाे ।

एक बर्षअघि झापा आएका काेइराला र रिजालको यसैसाता सरुवा भएको थियो । काेइरालाकाे महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखा काठमाडौँ र रिजालको जिल्ला प्रहरी कार्यालय दाङ सरुवा भएको छ ।

झापाको शान्तिसुरक्षा र कोरोना संक्रमण नियन्त्रणका सन्दर्भमा झापाका प्रहरी प्रमुख कोइराला र बिर्तामोडका डिएसपी रिजालले महत्वपूर्ण भूमिका खेलेको बिर्तामोड उद्योग वाणिज्य सङ्घका अध्यक्ष कुमार भट्टराईले बताए ।

सहारा नेपालका कार्यकारी निर्देशक महेन्द्रकुमार गिरी जनताको मन जितेर काम गर्ने प्रहरी अधिकारीहरुलाई सधै सम्मान गर्ने परम्परा बिर्तामोडले बसालेको बताउँछन् । बिदाई समारोहमा बाेल्दै डीएसपी रिजालले बिर्तामोडका नागरिकले शान्ति सुरक्षा कायम गर्न गरेको सहयोगलाई जीवनमा कहिल्यै नबिर्सने बताए।

विवादरहित कार्य सम्पादनमा बिर्तामाेडले गरेकाे सहयाेग सधैं सम्झनामा रहने छ, डीएसपी रिजालले भने, यहाँहरुको उदारता र सकारात्मक पृष्ठपाेषण मेरा लागि मार्गदर्शक भएको छ ।

प्रहरी प्रमुख एसपी काेइरालाले झापाको शान्ति सुरक्षामा अाफूले सक्दाे प्रयास गरेको बताए । समुदायकाे सहयोग र मन जितेर काम गरेको भन्दै उनले झापाका नागरिककाे सहयोग नबिर्सने बताए। याे सम्मान हामीप्रतिकाे विश्वास र भरोसा हाे, एसपी काेइरालाले भने, यसलाई म कहिल्यै टुट्न दिन्न ।

कार्यक्रममा पूर्वाञ्चल प्लाई उद्योग सङ्घका अध्यक्ष दीपेन्द्र पोखरेलले सबै संघसंस्थाका तर्फबाट शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमकाे सञ्चालन बिर्तामोड उद्योग वाणिज्य सङ्घका महासचिव प्रशान्त भण्डारीले गरेका थिए