बुधवारे जेसीजको पद हस्तान्तरण, बाग्लेले सम्हाले कार्यभार



 

बुद्धशान्ति–बुधबारे जेसीजको आठौं पद हस्तान्तरण आज सम्पन्न भएको छ । बुधबारे जेसीज बर्ष २०२० का अध्यक्ष जेसी नन्दु राईको अध्यक्षतामा पद हस्तान्तरण समारोह भएको हो ।

बुद्धशान्ति गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेलको प्रमुख आतिथ्य र उपाध्यक्ष मीरा भुर्तेलको विशेष आतिथ्यतामा भएको कार्यक्रममा जेसीजका राष्ट्रिय उपाध्यक्ष रजनी थापा र बिमला सुबेदीको आतिथ्यता रहेको थियो ।

पद हस्तान्तरण समारोहमा जेसीजले विवेचनाका सह सम्पादक तीर्थ तिम्सिनासहित बर्ष उत्कृष्ट जेसीका रुपमा बिनोद रिजाल, जग्गादाता ज्ञानेन्द्र घिमिरे, कोरोना कहरमा महत्त्वपूर्ण भूमिका खेल्ने एम्बुलेन्स चालक रविन खतिवडा लगायतलाई सम्मान गरेको छ ।

जेसीजका अध्यक्ष नन्दु राई, प्रमुख अतिथि भुजेल लगायतले दोसल्ला र सम्मान पत्रले उनीहरुलाई सम्मान गरेका छन् । बर्ष २०२१ को लागि जेसी अनिल वाग्लेको नयाँ कार्य समितिलाई पद हस्तान्तरण गरिएको छ ।

उनले महासचिवमा सुजित बराल, कोषाध्यक्षमा मुकेश भट्टराई र कानुनी सल्लाहकारमा गजुहाङ योङ्याहाङ लगायत ३१ जनालाई मनोनित गरेका छन् । कार्यक्रममा बुद्धशान्ति गाउँपालिका अध्यक्ष भुजेलले बुधबारे जेसिजले गरेको कामको प्रशंसा गरेका छन्।

प्रमुख अतिथि भुजेलले पदभार ग्रहण गरेको सबै जेसीहरुलाई सफल कार्यकालको शुभकामना दिए । उनले बुद्धशान्तिलाई चिनाउन अनुरोध गर्दै यसका लागि गाउँपालिकाले युवासँग सहकार्य गर्ने समेत बताए ।

जेसी गजुहाङ योङ्याहाङको संयोजकत्वमा भएको कार्यक्रममा जेसी अर्जुन ढकालले जेसीज आस्था बाचन गरेका थिए भने सञ्चालन २०२० का महासचिव दीपेन सिटौला र कार्यकारिणि उपाध्यक्ष गोकुल पौडेलले गरेका थिए ।