‘उद्योग वाणिज्य महासंघको भूमिका कमजोर र धरासायी’–पूर्व अध्यक्ष ढकाल



बिर्तामोड– नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकालले महासंघको भूमिका कमजोर र धरासायी बन्दै गएको बताएका छन् । राजनीतिक दाउपेचका कारण महासंघ सरकारसँग भिड्ने अवस्थामा नरहेको पूर्व अध्यक्ष ढकालले बताए ।

बिर्तामोड उद्योग वाणिज्य संघको चौथो वार्षिक साधारण सभामा बोल्दै उनले यस्तो धारणा राखेका हुन् । ‘अध्यक्षका रुपमा फोटो झुण्ड्याउने बाहेक महासंघ केही गर्न नसक्ने अवस्थामा छ’, पूर्व अध्यक्ष ढकालले भने ।

कार्यक्रममा बोल्दै महासंघको प्रदेश १ का अध्यक्ष टीकाराज ढकालले व्यवसायीको हितमा सधैँ दृढतापूर्वक उभिने बताए । उनी हालै मात्रै प्रदेश अध्यक्षमा निर्विरोध भएका हुन् ।

कार्यक्रममा संविधान सभा सदस्य सुधिरकुमार शिवाकोटी, बिर्तामोड नगरपालिकाका प्रवक्ताअग्निप्रसाद पाण्डे, नेपाल पत्रकार महासंघ झापाका कार्यवाहक अध्यक्ष एकराज गिरी, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमिया लगायतले बोलेका छन् ।

बिर्तामोड उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष बलराम कार्की, आन्तरिक राजश्व कार्यालय भद्रपुरका प्रमुख युवराज श्रेष्ठ, युनीकम नेपालका केन्द्रीय अध्यक्ष गजेन्द्रवहादुर पौडेल, दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ ,सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाही, नेकपा बिर्तामोड नगर अध्यक्ष ज्ञानुराम प्रसाईलगायतले शुभकामना मन्तव्य राखेका छन् ।

साधारणसभामा प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष कुमार भट्टराईले अनेक चुनौतिका बाबजुद पनि आफ्नो कार्यकाल सफल भएको बताए । उनले संघले महासंघको सदस्यता प्राप्त गरेको, अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला आयोजना गरेर स्थानीय उत्पादन तथा बस्तुको प्रवद्र्धन गरिएको, अतिथि सदनको माथिल्लो तला आकर्षक र भव्य बनाइएको लगायतका विषय प्रमुख उपलब्धि भएको उल्लेख गरे ।

कोरोना संक्रमणका समयमा पनि संघ अग्रपङ्तिमा रहेको अध्यक्ष भट्टराईले बताए । संघले पिसीआर परीक्षण प्रयोगशाला स्थापनामा झन् महत्वपूर्ण भूमिका खेलेको छ’, अध्यक्ष भट्टराईले भने, ‘विपन्नको राहतका लागि पनि संघ सधैँ सक्रिय रह्यो ।’

व्यवसायीको हित र संरक्षणका लागि संघले आफ्नो कार्यकालमा महत्वपूर्ण भूमिका खेलेको अध्यक्ष भट्टराईले जानकारी दिए । साधारण सभाको बन्दसत्रमा बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव भेषराज भण्डारी प्रशान्तले महासचिवको प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष मनोज अग्रवालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

बन्दसत्रले संघका अध्यक्ष भट्टराईको वार्षिक प्रगति प्रतिवेदन, महासचिव भण्डारीको प्रतिवेदन, कोषाध्यक्ष अग्रवालको प्रतिवेदन पारित गरेको छ ।