मौरीजन्य उत्पादन र मानव स्वास्थ्य विषयक छलफल



शिवसताक्षी– सतासीधामको दुधेमा आज आयोजित एक कार्यक्रमका बीच मौरीजन्य उत्पादनबाट मानव स्वास्थ्यमा प्रभावबारे छलफल सम्पन्न भएको छ । सतासी महिला मौरीपालन सहकारी संस्थाको आयोजना र शिवसताक्षी नगरपालिकाको सहयोगमा छलफल भएको हो ।

मौरीको विषयमा अध्ययन अनुसन्धान गरिरहेका युटर्न नेपालका खगेन्द्र तिम्सिनाले कार्यक्रममा सहजीकरण गरेका छन् । नेपालमा व्यवसायिक मौरीपालन गरिए पनि मौरीले उत्पादन गरेको बहुमूल्य औषधीजन्य बस्तुलाई चिन्न नसकिएको सहभागीको निष्कर्ष छ ।

छलफलमा मानव जीवनमा मौरीको भूमिका, मौरीको प्रकृतिसँगको सम्बन्ध र जीवनचक्र, महका अतिरिक्त बहुमूल्य बस्तुका रुपमा रहेको रोयल जेली (शाही खाना), चोप लगायतका विषयमा छलफल भएको थियो ।

सतासी महिला मौरीपालन सहकारी संस्थाका अध्यक्ष धनमाया थापाको अध्यक्षता भएको कार्यक्रममा माइवेनी कृषि सहकारी संस्थाका अध्यक्ष रोहिता भट्टराई लगायतले शुभकामना मन्तव्य राखेका छन् ।

सताक्षी मौरीपालन सहकारी संस्थाका व्यवस्थापक देवी दाहालले सञ्चालन गरेको कार्यक्रममा स्थानीय मौरीपालक महिला दिदी–बहिनीको उपस्थिति रहेको थियो । हाल सो क्षेत्रका ३२० घरमा व्यवसायिक मौरी पालन हुँदै आएको छ ।