युवकको संवेदनशील अंगमा भेटियो ब्राउन सुगर



बिर्तामोड– सीमापारि पानीट्याङ्कीबाट नेपाल आउँदै गरेका युवाको संवेदनशील अंगमा ब्राउन सुगर फेला परेको छ । सीमावर्ती चेकजाँचमा खटिएको प्रहरीले शंका लागेर जाँच गर्दा युवकको संवेदनशील अंगमा लुकाइएको ब्राउन सुगर फेला परेको हो ।

गुप्ताङ्गमा लुकाइएको २० ग्राम ब्राउन सुगरसहित झापाको कमल गाउँपालिका–६ का २० वर्षीय नवराज भट्टराई पक्राउ परेका छन् । उनलाई लागूऔषध नियन्त्रण व्युरोको टोलीले आज दिउँसो काँकडभिट्टाबाट पक्रेको हो ।

भारतीय क्षेत्रबाट नेपाल प्रवेश गरेका उनलाई प्रहरीले मेचीपुलमा रोकेर खानतलासी गरेको झापा प्रहरीका प्रवक्ता डीएसपी राकेश थापाले बताए । उनलाई काँकडभिट्टा प्रहरीको हिरासतमा राखिएको छ । भोलि अदालतमा पेश गर्ने प्रहरीको तयारी छ ।