चुनावको तयारीमा निर्वाचन आयोग, सम्पर्क व्यक्ति तोकियो



 

झापा– संसद विघटनको मुद्दामा सर्वाेच्च अदालतमा बहस चलिरहँदा निर्वाचन आयोग भने चुनावी तयारीमा लागेको छ । बैशाखमा दुई चरणमा निर्वाचन गराउने सरकारी घोषणापछि आयोग पूर्व तयारीमा जुटेको हो ।

संसद विघटनको सिफारिस गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले बैशाखमा दुई चरणमा प्रतिनिधि सभाको निर्वाचन गर्ने घोषणा गरेका थिए । निर्वाचन हुने नहुनेमा अनेक अड्कलबाजी र आशंका छन् । तर, आयोगले आफ्नो तयारीलाई भने तीब्र बनाएको छ ।

आयोगले पूर्व तयारीका क्रममा सबै प्रदेश र स्थानीय तहमा एक–एक जना सम्पर्क व्यक्ति तोकेको छ । सात वटै प्रदेश र ७५३ वटै स्थानीय तहमा सम्पर्क व्यक्ति तोकिएको आयोगले जनाएको हो ।

आयोगका प्रवक्ता सह–सचिव राजकुमार श्रेष्ठले स्थानीय तहमा शिक्षा वा सामाजिक बिषयसँग सम्बन्धित शाखाको प्रमुखलाई निर्वाचन सम्पर्क व्यक्ति तोक्ने निर्णय भएको जानकारी दिए ।