संसद विघटनविरुद्ध बोल्न झापा आउँदै नेता सुरेन्द्र पाण्डे



मेचीनगर– नेकपाका प्रभावशाली नेता सुरेन्द्र पाण्डेले संसद विघटनविरुद्ध झापाको धुलावारीमा सम्वोधन गर्ने भएका छन् । नेकपाको प्रचण्ड माधव समूहले आयोजना गरेको कार्यक्रममा सहभागिता जनाउन नेता पाण्डे झापा आउन लागेका हुन् ।

माघ १० गतेका लागि तय भएको कार्यक्रममा नेकपा स्थायी समिति सदस्य पाण्डेले सम्वोधन गर्ने जनाइएको छ । धुलावारीस्थित पासाङ ल्हामु स्मृति भवनमा आयोजित कार्यक्रमलाई नेता राम कार्की र नेकपा झापाका इन्चार्ज रविन कोइरालाले पनि सम्वोधन गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि त्यसको पक्ष विपक्षमा नेकपा नेता कार्यकर्ता उभिएका छन् । साताअघि सोही भवनमा नेता महेश बस्नेतले आफ्नो समूहको भेलालाई सम्वोधन गर्दै प्रधानमन्त्रीको कदममा सघाउन नेता कार्यकर्तालाई अपिल गरेका थिए ।

मेचीनगरबाट निर्वाचित प्रदेश सभा सदस्य गोपाल बुढाथोकी र श्रीप्रसाद मैनाली प्रधानमन्त्रीको पक्षमा उभिएका छन् । सुरुमा ओली समूहद्वारा प्रस्तावित केन्द्रीय सदस्य अस्वीकार गरेका बुढाथोकी ‘नाटकीय शैली’ मा ओली लाइनमा संगठित भएका हुन् ।

मुख्यमन्त्री शेरधन राईविरुद्ध गरिएको हस्ताक्षर फिर्ता लिएर विज्ञप्ति निकालेपछि झापामा उनको कदम एकपटक चर्चामा आएको छ । राज्य मन्त्री त्यागेर प्रधानमन्त्रीको कदमविरुद्ध अग्रमोर्चामा उभिएकी नेतृ जसमाया गजमेर पनि आफ्नो अडानबाट पछाडि हटेकी छन् ।