निर्वाचनको तयारीमा जुट्न नेता कार्यकर्तालाई सिटौलाको निर्देशन



 

बिर्तामोड– नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले निर्वाचनको तयारीमा जुट्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । झापाको बिर्तामोडमा आज पार्टीका कार्यकर्ताको भेलालाई सम्वोधन गर्दै नेता सिटौलाले राजनीतिक स्वार्थका लागि कम्युनिष्टहरु एक हुन सक्ने सम्भावना कायमै रहेकाले अल्छी नगरी चुनावी तयारीमा लाग्न निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीमा अनपेक्षित राजनीतिक दम्भ बढेको बताउँदै काङ्ग्रेस नेता सिटौलाले ओली नेतृत्वको सरकार र प्रदेश सरकारका मुख्यमन्त्रीले गरेका सबै प्रकारका गलत कामलाई जनतासमक्ष लैजान पनि निर्देशन दिए । प्रतिनिधि सभा विघटनलाई मात्रै एजेण्डा बनाउन नहुनेमा नेता सिटौलाको जोड छ ।

राजनीतिक स्थायित्व र सुशासनका पक्षमा सरकार वेइमान ठहरिएको बताउँदै नेता सिटौलाले जनताको मन जित्ने गरी काङ्ग्रेस चुनावी तयारीमा लाग्ने पनि बताए । काङ्ग्रेस पूर्व महामन्त्री समेत रहेका सिटौलाले कम्युनिष्ट पार्टीका धेरै नेता देशद्रोही र राष्ट्रघाती देखिएको टिप्पणी गरे ।

‘केपी ओलीको सम्पूर्ण शक्ति पार्टीको र आफ्नै गिरोहको हितमा मात्रै खर्च भएको छ’, नेता सिटौलाले भने, ‘उहाँमा नैतिकताको सीमा छैन, कानूनको अधिनमा हुनुहुन्न ।’ पार्टीभित्रको विवादको सनकमा ओलीले संसद विघटन गरेको र यसले संविधानको ‘फण्डामेन्टल’मा नै भ्वाङ पारेको नेता सिटौलाले बताए ।