पुस ७ मा ‘बालमैत्री घोषणा दिवस’ मनाउने भद्रपुर नगरको निर्णय



 

गंगा बराल, भद्रपुर– भद्रपुर नगरपालिकाले प्रत्येक वर्ष पुस ७ गते बालमैत्री घोषणा दिवस मनाउने निर्णय गरेको छ । बिहीबार सम्पन्न सातौं नगरसभाले यस्तो निर्णय गरेको नगरप्रमुख जीवनकुमार श्रेष्ठले बताए ।

गत पुस ७ गते भद्रपुर नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा गरिएको थियो । भद्रपुर प्रदेशको पहिलो बालमैत्री स्थानीय तह हो । घोषणापछि भद्रपुर देशकै पाँचौँ बालमैत्री नगरपालिका पनि भएको छ ।

नगरपालिकाले बालबालिकाको क्षेत्रमा उल्लेखनीय र ऐतिहासिक कार्य गरेको रुपमा खुशीयालीस्वरुप पुस ७ गतेलाई बालमैत्री घोषणा दिवस मनाउने निर्णय नगरसभाले गरेको नगरप्रमुख श्रेष्ठले बताए ।

नगरपालिकाले बालमैत्रीसम्बन्धी अन्तर्राष्ट्रिय सन्धि–अभिसन्धि एवम् ऐन–कानूनको पालना, बालबालिका सम्बन्धी राष्ट्रिय रणनीतिको पालनालगायत बालबालिकाको हितका ३९ वटा सुचक पूरा गर्दै बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा हुन सफल भएको थियो ।

नगरसभाले बालबालिकासम्बन्धी रणनीतिक योजनामार्फत नगरभित्रका बालबालिकाको सर्वाङ्गीण विकासका लागि योजनाहरु सञ्चालन गर्ने निर्णय गरेको छ । नगरसभाले चालु आवको छ महिने प्रगतिको समीक्षा गर्नुका साथै थप योजनाहरु पनि पारित गरेको छ ।