अर्डर गर्नुस्, ‘टिफिन बक्स’ मा आइपुग्छ रोजाईको खाजा



 

बिर्तामोड– व्यस्त दैनिकी हुनेहरुले बिर्तामोडमा आफ्नै अफिसमा बसेर खाजाका परिकार खान पाउने भएका छन् । अर्डर अनुसार ड्रिम्स ग्रुप अफ कम्पनीले बिर्तामोडमा खाजाका परिकारको बिक्री थालेको हो । कम्पनीले यसलाई ‘ टिफिन बक्स’ नाम दिएको छ ।

कम्पनीका प्रबन्ध निर्देशक प्रणित पुडासैनी अर्डर अनुसार टिफिन बक्समा हालेर खाजा सर्भिस दिइने बताए । ‘न्यूनतम् ५० रुपैयाँदेखि १ सय रुपैयाँसम्ममा खानाका विभिन्न परिकार टिफिन वक्समा उपलब्ध हुने छन्’, उनले भने ।

हप्तामा एकदिन मेनु संकलन गर्ने र हप्ताभर सोही अनुसारको खाजा दिइने ड्रिम्सले जनाएको छ । विभिन्न क्षेत्रमा काम गर्दै आएको सो कम्पनीले बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारी, बीमा कम्पनी, विद्यालय र व्यवसायीलाई खाजा सेवा उपलब्ध गराउने तयारी गरेको छ ।

हालसम्म १ सय ५० जनाले टिफिन बक्सका लागि सम्झौता गरिसकेको कम्पनीका कार्यकारी निर्देशक सरोज खरेलले बताए । १२ जना कर्मचारीले टिफिन बक्सको लागि काम गर्नेछन् ।