पूर्वाञ्चल क्यान्सर अस्पतालमा बिरामीलाई एक लाखसम्म छुट



 

बिर्तामोड– पूर्वाञ्चल क्यान्सर अस्पतालमा भर्ना भएका क्यान्सरपीडित बिरामीले औषधि उपचारमा एक लाख रुपैयाँसम्म छुट पाउने भएका छन् ।

सरकारको विपन्न नागरिक औषधि उपचार कोष कार्यक्रम अन्तर्गत पूर्वाञ्चल क्यान्सर अस्पतालले पनि बिरामीलाई औषधि उपचारमा छुट दिने व्यवस्था मिलाएको हो ।

कोषमा सुचिकृत भएका र आवश्यक मापदण्ड पूरा भएका अस्पतालमार्फत सरकारले विपन्न नागरिकको स्वास्थ्यमा अधिकतम एक लाख रुपैयाँसम्म छुट दिने नीति अघि सारेको थियो ।

अस्पतालका जनसम्पर्क अधिकृत प्राेमिश गिरीले पुस २१ गते कोषसँग यससम्बन्धी सम्झौता भएको जनाउँदै अहिलेसम्म १५ जना क्यान्सरपीडित बिरामीले एक लाख रुपैयाँसम्मको छुट सुविधा लिएको बताए ।

पूर्वाञ्चल क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर वीरेन्द्र यादवले विपन्न नागरिकले उपचारमा छुट सुविधा पाउने व्यवस्था बिर्तामोडमा भएकाले अन्यत्र जानु नपर्ने बताए । सरकारले राेगको प्रकृतिका आधारमा विपन्न नागरिकलाई तोकिएका अस्पतालमा उपचारमा एक लाख रुपैयाँसम्म छुट दिँदै आएको छ ।