कर्णाली सहकारीद्वारा १० लाख ऋण मिनाहा




शरणामती– कर्णाली बचत तथा ऋण सहकारी संस्थाले झापा गाउँपालिका–४ बाँसबारीका समाउल हकको १० लाख रुपैयाँ भन्दाबढी ऋण मिनाहा गरेको छ ।

हकले २०७७ असार १७ गते २० लाख रुपैयाँ कर्जा लिएका थिए । उनको पुस १ गते निधन भएको थियो । माघ २१ गते उनको परिवारलाई कर्जा मिनाहाको पत्र दिइएको हो ।

समाउलको निधन हुँदासम्म संस्थामा १७ लाख ७० हजार ३०० रुपैयाँ ऋण तिर्न बाँकी थियो । सदस्य सुविधा नीति अनुसार १० लाख ६२ हजार १७४ रुपैयाँ मिनाहा गरिएको अध्यक्ष टसबहादुर प्रधानले बताए ।

झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साहको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रमका बीच कर्जा मिनाहाको पत्र हककी पत्नी आलेखा जानलाई प्रदान गरिएको हो ।

कर्णालीले काजकिरिया खर्चवापत छ हजार रुपैयाँ पनि प्रदान गरेको सचिव भूपाल बस्नेतले बताए । सदस्य तथा अभिभावक अनुशिक्षण कार्यक्रममा सचिव बस्नेतले कर्णालीका शेयर सदस्यले उपचार कोषको सदस्य बनेर पाउने सुविधाका बारेमा अवगत गराएका थिए ।