बिर्तामोडका ढुङ्गेललाई अपहरण गर्ने उर्लावारीका लिम्वू पाँचवर्षपछि पक्राउ



बिर्तामोड– मानव अपहरण तथा शरीर बन्धक मद्दाका एक जना फरार अभियुक्त पाँच वर्षपछि पक्राउ परेका छन् । मोरङको उर्लावारी–२ घर भएका राजेश्वर लिम्वूलाई जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरेको हो ।

झापाको बिर्तामोड–६ का बिशाल ढुङ्गेललाई २०७२ माघ १४ गते अपहरण गरी भारतको पानीट्याङ्की लगेर हात खुट्टा बाँध्नुका साथै नगद समेत लुटेको अभियोगमा लिम्वू उपर मुद्दा दायर भएको थियो ।

दायर मुद्दामा झापा जिल्ला अदालतले उनलाई २०७३ माघ ५ गते सात वर्ष कैद र ५० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।

घटनापछि फरार रहँदै आएका लिम्वूलाई सूचनाका आधारमा मोरङ प्रहरीसँगको समन्वयमा पक्राउ गरी ल्याइएको झापा प्रहरीका प्रवक्ता डीएसपी राकेश थापाले बताए ।

प्रहरीले उनलाई अदालतमा पेश गरी थुनामा पठाउने तयारी गरेको छ । कोरोना परीक्षणको रिपोर्ट आएपछि लिम्वूलाई कारागार चलान गर्ने प्रहरीको तयारी छ ।

अदालतको फैसला कार्यान्वयका क्रममा झापा प्रहरीले फरार अभियुक्तलाई पक्राउ गर्ने क्रम तीव्र पारेको छ ।