झापा उद्योग संघद्वारा पत्रकार काफ्ले र गिरी पुरस्कृत




भद्रपुर : झापा उद्योग संघले आफ्नो २६ औं वार्षिकोत्सवको अवसर पारेर झापाका दुईजना पत्रकारलाई पुरस्कृत गरेको छ ।

सोमबार हल्दिबारीस्थित भेलागुडी सामुदायिक वनको वनभोजस्थलमा संघले आर्थिक पत्रिका निर्माण लहर साप्ताहिकका सम्पादक रोहित काफ्ले र नागरिक एफएमका समाचार सम्पादक गोपाल गिरीलाई पुरस्कृत गरेको हो ।

आर्थिक पत्रकार समाज झापाका अध्यक्ष काफ्ले र अग्रज पत्रकार साप्ताहिक समाचारपत्रका प्रधान सम्पादक गिरीलाई जनही नगद ५००१।– प्रदान गरिएको छ ।

पत्रकारिताको माध्यमबाट आर्थिक क्षेत्रको समाचार एवम् संघको गतिविधि प्रकाशन–प्रशारण गर्दै समाजलाई सुसूचित गराउन महत्वपूर्ण योगदान पुर्याएकोमा काफ्ले र गिरलिाई पुरस्कृत गरिएको झापा उद्योग संघका अध्यक्ष टिकाराज ढकालले बताए ।

२६ औं साधारणसभाका प्रमुख अतिथि सार्क चेम्बर कमर्स एण्ड इण्डष्ट्रीका उपाध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकाल एवम् संघका अध्यक्ष टिकाराज ढकालले काफ्ले र गिरीलाई संयुक्त रुपमा पुरस्कृत गरेका थिए ।

वरिष्ठ उपाध्यक्ष यमबहादुर श्रेष्ठले स्वागत र महासचिव दुर्गाप्रसाद भण्डारीले सञ्चालन गरेको समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि ढकालले निजी क्षेत्रका समस्याका बारेमा, निजी क्षेत्रका सफलताका बारेमा कलम चलाउन सञ्चार क्षेत्रसँग आग्रह गरे ।

अध्यक्ष ढकालले संघको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आफ्नो कार्यकालमा संघको आफ्नै भवन निर्माण गर्न सफल भएको, एक जिल्ला एक उत्पादन कार्यक्रम सञ्चालन गरिएको र त्यसबाट सयौं किसान लाभान्वित भएको उल्लेख गरे ।

कार्यक्रममा जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेल भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिना, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमिया, १ नं प्रदेश उद्योग वाणिज्य महासंघका उपाध्यक्ष राजेन्द्र राउत, नेपाली कांग्रेस ३ नं क्षेत्रीय सभापति गणेश पोखरेलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

समारोहमा हालै नेपाल उद्योग वाणिज्य महासंघ तथा १ नं प्रदेश उद्योग वाणिज्य महासंघमा निर्वाचित पदाधिकारी–सदस्यहरुलाई पनि सम्मान गरिएको थियो ।

साधारणसभाको बन्दसत्रले अध्यक्ष ढकालले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन, महासचिव भण्डारीले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष अरविन्द अग्रवालले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गर्नुका साथै नयाँ कार्यसमिति चयनका लागि फागुन १५ गते निर्वाचनको मिति तय गरेको उपाध्यक्ष दीपेश ढकालले जानकारी दिए ।