चुनावी रौनकमा बिर्तामोडका व्यवसायी : सुवासलाई जिताउन व्यवसायीबीच कार्यगत एकता



बिर्तामोड– बिर्तामोड उद्योग वाणिज्य सङ्घको आसन्न निर्वाचनमा युवा व्यवसायी सुवास भट्टराई अध्यक्षका सशक्त दावेदारका रुपमा उभिएका छन् । निर्वाचनको मिति नजिकिँदै गर्दा युवा व्यवसायी भट्टराईको दावेदारी सङ्घको नेतृत्वका लागि अपरिहार्य बन्दै गएको हो ।

बिर्तामोडका अनेकन सामाजिक मुद्दा, व्यवसायिक समस्या र तिनको समाधानका पक्षमा आफू सधैैँ सक्रियतापूर्वक लागेकाले अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको भट्टराईले बताए । ‘म सधैं व्यवसायिक हित र प्रवर्द्धनको पक्षमा उभिएको छु त्यसमा बिर्तामोडका उद्योगी-व्यवसायीले साथ र समर्थन दिँदै आउनु भएको छ’, भट्टराईले भने, ‘निर्वाचनमा पनि उहाँहरूको सहयोगले अध्यक्षमा विजयी हुन्छु भन्ने लागेको छ ।’

आफू निकटका कुन व्यवसायीलाई अध्यक्षकाे उमेदवार बनाउने भन्नेमा सकस झेलिरहेको काङग्रेस अझै टुङ्गोमा पुग्न सकेको छैन । अध्यक्षका आकाङ्क्षी व्यवस्थापन गर्न नसक्दा काङ्ग्रेस उम्मेदवार चयनमा सकस झेल्न बाध्य भएको हो ।

काङ्ग्रेसका तर्फबाट युवा व्यवसायी राजु न्यौपाने,  प्रकाश सिवाकोटी, भेषराज भण्डारी प्रशान्त अध्यक्षका प्रबल दाबेदार छन् । महिला उद्यमी पार्वता बिमलीले पनि अध्यक्षका लागि दाबी गरिरहेकी छन् । काङ्ग्रेसभित्र कसलाई अध्यक्षकाे उमेद्वार बनाउने भन्नेमा अन्योल छ ।

फागुन १६ गते हुने निर्वाचनमा भट्टराईकाे नेतृत्वमा निर्वाचनमा जान नेकपा एकढिक्का भएको छ । पार्टी राजनीतिमा विभाजनको असर देखिए पनि आसन्न निर्वाचनमा नेकपा व्यवसायिक हित र प्रवर्द्धनका लागि दरिलो रुपमा उभिएको हाे ।

 राष्ट्रिय प्रजातन्त्र पार्टी समेतको समर्थनमा नेकपाका तर्फबाट सुवास चुनावी मैदानमा उत्रिएका छन् । बिर्तामोड उद्योग वाणिज्य सङ्घलाई नगरस्तरीय सङ्घमा रूपान्तरण गर्दा महासचिवको भूमिका निर्वाह गरेका भट्टराई सरल र मिलनसार स्वभावका छन् ।

विभिन्न संस्थाको नयाँ नेतृत्वदायी भूमिकामा रहेका कारण पनि भट्टराईको व्यवसायिक क्षमता अब्बल देखिन्छ । नेपाल अलैंची व्यवसायी महासङ्घको महासचिव मात्र होइन, भट्टराई सिम्रिक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष पनि  हुन् ।

कुशल व्यवस्थापकीय क्षमता भएका भट्टराई आयात निर्यातको व्यवसायका क्षेत्रमा पनि माथिल्लो निकायमा सिधै पहुँच राख्छन् । ठूला मात्रै होइन, साना व्यवसायीका समस्या र पीरमर्का पनि भट्टराईले राम्रैसँग बुझेका छन् । बिर्तामोडमा सिसी क्यामेरा जडान गर्ने कार्यमा पनि भट्टराईको योगदान सम्झन लायक छ ।

बिर्तामोडबाट उत्पादन हुने फोहोरमैला व्यवस्थापन गर्ने अभियानमा पनि भट्टराईले अग्रणी भूमिका निर्वाह गरिराखेका छ । बिर्तामोड, अर्जुनधारा र कनकाई नगर क्षेत्रबाट निस्कने फोहोरमैला व्यवस्थापनका लागि सुरुङ्गामा बायोग्यास प्लाण्ट निर्माण भइरहेको छ । यसमा पनि भट्टराईको भूमिका नेतृत्वदायी तहमा छ ।

कोरोना सङ्क्रमणबाट पीडित र प्रभावित भएका व्यवसायीको पक्षमा पनि भट्टराई प्रभावशाली रूपमा उभिएका छन् । कोरोना सङ्क्रमणका बेला नियमित बजार बन्दलाई मात्रै समाधानको उपाय ठान्ने स्थानीय प्रशासनलाई चुनौती दिंदै भट्टराईले बिर्तामोड बजार खोल्ने विषयमा कडा अडान राखेका थिए ।