व्यवसायीकाे चुनाव : सह कोषाध्यक्षमा पत्रकार पत्नीको राेचक भीडन्त !




बिर्तामोड : बिर्तामोड उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा झापाका दुई पत्रकारका श्रीमती एउटै पदमा निर्वाचनमा होमिएका छन् । व्यवसायिक क्षेत्रमा आफ्नै परिचय बनाएका उनीहरु एक अर्काको प्रत्यासीका रुपमा निर्वाचनमा होमिएका हुन् ।

संघको सह कोषाध्यक्ष पदमा पत्रकार कृष्ण हुमागाईकी जीवन संगीनी राधिका चुडाल र पत्रकार बिजय बरालकी जीवन संगीनी रञ्जु प्याकुरेल चुनावी मैदानमा उत्रिएका छन् । चुडाल यसअघि पनि संघमा सदस्यको भूमिकामा थिइन् । उनी कांग्रेसनिकट व्यवसायीको लोकतान्त्रिक समूहको समर्थनमा सह कोषाध्यक्षका लागि निर्वाचन लड्दैछिन् ।

सामाजिक अभियानमा निरन्तर सक्रिय प्याकुरेल संघमा पहिलोपटक प्रवेश गर्न खोजिरहेकी छन् । प्रखर भाषणकला भएकी प्याकुरेल प्रगतिशील संयुक्त प्यानलकी उमेद्वार हुन् । नेकपा र राप्रपानिकट व्यवसायीको उनलाई दरिलो साथ छ ।

एउटै पदमा पत्रकार पत्नीहरु बीच हुन लागेको चुनावी प्रतिस्पर्धा आफैंमा रोचक हुने देखिएको छ । बिर्तामोडका सचेत व्यवसायिक मतदाताले कसलाई राेज्छन्, यसका लागि भने चुनावी परिणाम कुर्नै पर्ने हुन्छ ।