सहारा नेपालद्वारा कोरोना संक्रमित सदस्यलाई ३३ लाख वितरण




कनकाई– सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले कोरोना संक्रमित आफ्ना शेयर सदस्यलाई कोरोना राहत रकम प्रदान गरेको छ । कोभिड सहायता कार्यक्रम अन्तरगत शुक्रवार सहाराले संक्रमित सदस्य र तिनका परिवारलाई राहत रकम प्रदान गरेको हो ।

संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले पूर्व घोषित कार्यक्रम अनुसार कोरोना संक्रमण भएका सदस्य र तिनका परिवारलाई करिव ३३ लाख रुपैयाँ उपलब्ध गराइएको बताए । कोरोनाका कारण सहारा आफैँले तीन जना शेयर सदस्य र एक जना कर्मचारी गुमाएको थियो ।

कोरोना संक्रमण भइ घरमा बसेका र उपचारका लागि अस्पताल भर्ना भएका शेयर सदस्यले प्रतिदिन पाँचसयका दरले भत्ता पाएका छन् । १४ दिनसम्मको भत्ता उनीहरुलाई प्रदान गरिएको छ ।

कोरोना संक्रमति ९८ जनालाई छ लाख ८६ हजार रुपैयाँ वितरण गरिएको सहाराले जनाएको छ । उपचारवापत १८ जनालाई २५ लाख ८५ हजार १३६ रुपैयाँ गरी जम्मा ३२ लाख ७१ हजार १३६ रुपैयाँ वितरण गरिएको छ ।