रेडक्रसको जिल्ला सभा : उत्कृष्टलाई सम्मान




भद्रपुर– नेपाल रेडक्रस सोसाइटी झापाको ४७ औं जिल्ला सभा शनिवार भद्रपुरमा सम्पन्न भएको छ । शाखा सभापति लोकराज ढकालको अध्यक्षता र झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाको प्रमुख आतिथ्यमा सभा भएको हो ।

सभामा रक्तदान आयोजना गरी पहिलो हुन सफल रोटरी÷रोट्रयाक्ट क्लव अफ भद्रपुर र भद्रपुर जेसीज, दोस्रो हुने सत्य साई केन्द्र प्रदेश १ र तेस्रो हुने नेपाली कांग्रेस झापा गाउँ समितिलाई अवार्ड दिइएको छ ।

कार्य सम्पादन मूल्याङ्कनका आधारमा समान अंक ल्याएर प्रथम भएका भद्रपुर र लखनपुर उपशाखालाई जनही ५ हजार, दोस्रो हुने बुद्धशान्ति र बाह्रदशी उपशाखालाई जनही ४ हजार तथा तेस्रो हुने शरणामती र बाहुनडाँगी उपशाखालाई ३ हजारका दरले पुरस्कार प्रदान गरिएको छ ।

शाखाका मन्त्री चन्द्रप्रसाद चूडाल र उपमन्त्री विश्व थापाले संयुक्त रुपमा सञ्चालन गरेको समारोहमा प्रजिअ तिमिल्सिना, सोसाइटीका पूर्व केन्द्रीय कोषाध्यक्ष भक्त खवासलगायतले मानवीय सेवामा झापा रेडक्रसले गरेका कामको मुक्तकण्ठले प्रशंसा गरेका छन् ।

मन्त्री चुडालले वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष हेम खड्काले आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक मनोज अग्रवालले लेखा प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा जिल्ला सदस्य ओमप्रकाश गौतमले स्वागत गरेका थिए ।